कारोबार संवाददाता
बुधवार, श्रावण १५, २०७६
687

नीतिले बजारसम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्नेलगायतका व्यवस्था गरेको छ ।

नेपाल धितोपत्र बोर्डले ‘डिजास्टर रिकोभरी’ संयन्त्र स्थापना गर्ने भएको छ । बोर्डले धितोपत्र बजारलाई पूर्णरूपमा प्रविधिमैत्री बनाउनका लागि बोर्डको सूचना प्रविधि नीति, २०७६ साउनदेखि लागू गरेको थियो ।
बोर्डले सूचना प्रविधिको उपयोग गरी बजार नियमन तथा बजार गतिविधिलाई प्रतिस्पर्धी एवम् विश्वसनीय बनाउन सो नीति ल्याएको जनाएको छ । नीतिमा धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सूचना प्रविधि पूर्वाधारको विकास विस्तार गर्ने, बजार नियमन तथा बजार गतिविधिमा सूचना प्रविधिको उपयोगलाई बढाउने उल्लेख छ । साथै नीतिले बजारमा सूचना प्रविधिको प्रयोगलाई स्तरीय र मितव्ययी बनाई सूचना प्रविधिका साधन तथा पूर्वाधारको सुरक्षित रूपमा प्रयोग गर्ने उपयुक्त वातावरण बनाउनेसमेत व्यवस्था गरेको छ ।

सूचना प्रविधिको व्यवस्थित एवं स्तरीय प्रयोगमार्फत धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन, सञ्चालन तथा लगानीलाई गतिशिल एवं विश्वसनीय बनाउने नीतिको उद्देश्य छ । बजारमा विकसित तथा स्तरीय सूचना प्रविधि प्रणालीको स्थापना तथा विकास गरिने बोर्डले जनाएको छ । बजार अनुगमन तथा सुपरिवेक्षणका लागि सूचना प्रविधि प्रयोग गर्ने, साइबर अपराध न्यूनीकरण र गुणस्तरमा जोड दिने, गुनासो समाधान, लगानीकर्ता शिक्षा तथा तालिम कार्यक्रममा सूचना प्रविधिको प्रयोग गर्नेसमेत बोर्डले जनाएको छ । नीतिले बजारसम्बन्धी सूचना तथा जानकारीको केन्द्रीय व्यवस्थापन तथा सुरक्षा गर्नेलगायतका व्यवस्था गरेको छ ।
बजार कारोबार, राफसाफ तथा फछ्र्यौट संयन्त्र र केन्द्रीय निक्षेप प्रणाली, वेयरहाउससँग सम्बन्धित अभिलेखको दिगो, भरपर्दो तथा सुरक्षित प्रयोगका लागि स्तरीय एवं अन्तर्राष्ट्रिय मापदण्डको डिजास्टर रिकोभरी संयन्त्रको स्थापना तथा व्यवस्थापन गर्ने÷गराउने बार्डले जनाएको छ । नीति कार्यान्वयनका लागि बोर्डले बजार नियमन, धितोपत्र बजार सञ्चालन तथा केन्द्रीय निक्षेप सेवा, बजारका अन्य गतिविधिमा प्रयोग गरिने सूचना प्रविधिका साधन र प्रणाली विकास तथा खरिद धितोपत्र बजार नियमन निकायहरूको अन्तर्राष्ट्रिय संस्था (आएस्को)को सिद्धान्त र सफ्टवेयरसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल हुने गरी व्यवस्था गर्ने बोर्डले जनाएको छ । बजारसम्बन्धी गतिविधिको अनुगमन तथा सुपरिवेक्षण गर्न बजार सञ्चालक तथा नियमन निकायमा सूचना प्रविधियुक्त बजार सुपरिवेक्षण प्रणालीको समेत व्यवस्था गर्ने नीतिमा उल्लेख छ ।
सफ्टवेयर विकास वा अधिग्रहण, प्राविधिक मूल्यांकन, पूर्वहस्तान्तरण निरीक्षणका लागि उपयुक्त मानक निर्धारण गर्ने तथा बजार प्रणाली र केन्द्रीय निक्षेप प्रणालीको सम्परिक्षण गर्नुपर्ने व्यवस्था गर्र्ने नीतिमा उल्लेख छ । बजारसँग सम्बन्धित सूचना प्रविधि साधनलाई स्तरीय, प्रभावकारी तथा विश्वसनीय बनाउन आवश्यक निर्देशन बनाइ लागू गर्नेसमेत बोर्डले जनाएको छ । बोर्डको सूचना प्रविधि नीति कार्यान्वयका लागि बोर्डका उपकार्यकारी निर्देशकको संयोजन रहने गरी ५ सदस्यीय समिति हुने व्यवस्था पनि नीतिले गरेको छ । सो नीति कार्यान्वयनको अनुगमन तथा मूल्यांकन बोर्डको उच्च व्यवस्थापनले गर्ने व्यवस्था नीतिमा रहेको बोर्डले जनाएको छ ।


सातामा धेरै पढिएको