कारोबार संवाददाता
सोमवार, श्रावण १३, २०७६
388

मौद्रिक नीतिपछि उकालो लाग्ने अपेक्षा रहेको धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार पुनः दोहोरो अंकले ओरालो लागेको छ । पुँजीगत लाभकरलगायतका विषयमा रहेको विवाद समाधान नभएको भन्दै लगानीकर्ताले सेयर खरिद मात्रै गर्न चोहको र बेच्ने कमै मात्र भेटिएपछि बजारमा नकारात्मक प्रभाव परेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । स्टकका अनुसार साताको पहिलो दिननै नेप्से १७.११ विन्दुले घटेर १ हजार २५२.८० विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ३.४३ विन्दुले घटेर २७०.०४ मा झरेको छ । नेप्से र सेन्सेटिभ परिसूचक आज क्रमशः १.३५ र १.२६ प्रतिशतले घटेका हुन् । स्टकक अनुसार कारोबार रकम पनि तुलनात्मक रूपमा घटेको छ । कुल १ सय ६६ कम्पनीको १९ लाख ३७ हजार ४१ कित्ता सेयर ४९ करोड २६ लाख ७३ हजार ६ सय ५२ रुपैयाँ खरिद बिक्री भए । बिहीबार नेप्से १४.१५ विन्दुले घटेर १ हजार २६९.९२ विन्दुमा बन्द भएको थियो । सो दिन कुल १ सय ७१ कम्पनीका २१ लाख ९८ हजार १ सय २६ कित्ता सेयर ५५ करोड ५ लाख ३२ हजार १ सय ४६ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

कारोबार भएका कुल १२ उपसमूहमध्ये आइतबार सामूहिक लगानी कोषबाहेक अरू सबै उपसमूहको सेयर घटेको छ । सामूहिक लगानी कोष ०.१६ विन्दुले बढ्दा बैंकिङ १५.९२, व्यापार २.५३, होटल ९.४९, विकास बैंक १५.४९, जलविद्युत् ११.८५, वित्त १.८३, निर्जीवन बिमा ९९.६७, उत्पादन २४.७२, अन्य ७.४४, लघुवित्त २७.७ र जीवन बिमा १०६.८९ विन्दुले घटेको छ ।
कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रह्यो । उक्त बैंकको ४ करोड ८ लाख २४ हजार ३ सय ६ रुपैयाँबराबरको सेयर कारोबार भयो । यस्तै नेपाल बैंक लिमिटेड ४ करोड १ लाख ७२ हजार ४ सय ३२ रुपैयाँ, छिमेक लघुवित्त विकास बैंक २ करोड ४० लाख ४२ हजार ९४ रुपैयाँ, एनआईसी एसिया बैंक २ करोड १७ लाख ४ हजार ५७ रुपैयाँ, शिवम सिमेन्ट २ करोड ६ लाख ६८ हजार १ सय ५७ र प्रभु बैंक २ करोड ६ लाख २४ लाख ७ सय ५१ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे ।
स्टकका अनुसार सिर्जना लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ९.७२ प्रतिशतले कमाउँदा युनिभर्सल पावर कम्पनी ४.६०, एनएमबी सुलभ फन्ड ३.५९, एनएमबी हाइब्रिड फन्ड ३.१३ र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ३.०१ प्रतिशतले आर्जन गरे ।
त्यस्तै युनियन हाइड्रो पावर ८.२३, युनाइटेड इन्स्योरेन्स ६.११, पाँचथर पावर ५.५१, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था ५.१७ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ५.१३ प्रतिशतले कमाए ।