कारोबार संवाददाता
आइतवार, श्रावण १२, २०७६
448

पोखरा-राष्ट्रिय सहकारी बैंक लिमिटेडको गत आर्थिक वर्षको यथार्थ अवस्था र चालू आर्थिक वर्षको वार्षिक समीक्षा तथा योजना तयारी गोष्ठी बिहीबारदेखि गण्डकी प्रदेशको पोखरामा सुरु भएको थियो । बैंकले विगतमा गरेका प्रभावकारी कार्यहरूको प्रवद्र्धनका साथै थप प्रभावकारी कार्य गर्नका लागि योजना निर्माण गर्ने उद्देश्यका साथ गोष्ठी आयोजना गरिएको बैंकले जनाएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीको उद्घाटन राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै उनले सहकारीमार्फत आर्थिक समृद्धिको अभियान सफल पार्नका लागि राष्ट्रिय सहकारी बैंकको भूमिका थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । सहकारी क्षेत्रमा थुप्रै अवसरहरू भए पनि त्यसलाई प्रभावकारी रूपमा आम जनताका बीचमा पु-याउन नसकिएको भन्दै उनले प्रदेश, स्थानीय तह र अन्य सरोकारवालाहरूबीच समन्वय गरेर अगाडि बढ्नु पर्ने बताए ।राज्यले सहकारीका लागि बनाएका कानुनहरू अझै सहकारीमैत्री बन्न नसकेको भन्दै उहाँले अभियानको सक्रियता र समन्वयमा सुधार गरिने बताए । कार्यक्रममा सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सहकारी संघ–संस्थाहरूलाई आवश्यक वित्तीयलगायत सबै सेवा दिन बैंक सक्षम रहेको बताए । उनले सहकारीमार्फत गरिबी निवारणका लागि सहकारी क्षेत्रको सवलीकरणका लागि बैंकले ल्याएका योजनाहरूसँग समन्वय गर्न सहकारी अभियानकर्मीहरूलाई उनले आह्वान गरे । कार्यक्रममा नेफ्स्कुनका सञ्चालक भीम गुरुङ, जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण अधिकारी, पोखरा महानगरपालिका सहकारी समन्वय समितिका अध्यक्ष तेजनारायण अधिकारी, जिल्ला बचत तथा ऋण सहकारी संघ कास्कीका अध्यक्ष सुदीप ढकाललगायतले सहकारीको समग्र विकासका लागि बैंकका कार्यक्रमहरू प्रभावकारी बन्दै गएको बताए । उनीहरूले सहकारी संघ संस्थाहरूलाई उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रित गर्नका लागि बैंकका योजनाहरू थप प्रभावकारी बनाउन सुझाव दिएका थिए । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले बैंकको पछिल्लो अवस्था र आगामी योजनाका बारेमा जानकारी गराएका थिए । बैंकमा हाल ११ हजार १ सय २५ शेयर सदस्य, १ अर्ब ५८ करोड सेयर रकम, २८ अर्ब निक्षेप, १९ अर्ब ६० करोड कर्जा लगानी रहेको छ । कार्यक्रम बैंकका अध्यक्ष केबी उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र पोखरा शाखा समन्वय उपसमितिका संयोजक मेजर तुलसीप्रसाद गुरुङको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । गोष्ठीमा बैंकका ४४ वटै शाखाका प्रमुखहरू, विभागीय प्रमुखहरू सहित ६० जनाको सहभागिता छ ।