कारोबार संवाददाता
आइतवार, श्रावण १२, २०७६
1830

विद्युत् नियमन आयोगले चार जलविद्युत् कम्पनीलाई सेयर निष्कासनका लागि स्वीकृति दिएको छ । नियमन आयोगका पदाधिकारी नियुक्तिपछि धितोपत्र बोर्डले स्वीकृतिका लागि पठाएका आयोजनाहरू आयोगका अध्यक्ष डिल्ली सिंहको अध्यक्षतामा बसेको बैठकले स्वीकृति दिने निर्णय गरेको हो । आयोगले चारै आयोजनाका प्रवद्र्धकहरूलाई सर्वसाधारण र स्थानीयवासीहरूका लागि १०-१० प्रतिशतका दरले सेयर निष्कासनका लाग स्वीकृति दिएको आयोगका प्रवक्ता डा. रामप्रसाद धितालले जानकारी दिए ।
४० मेगावाटको खानी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक ग्रिनलाइफ हाइड्रो पावर कम्पनीलाई ३४ करोड ९७ लाख ४० हजार रुपैयाँ अर्थात ३४ लाख ९७ हजार ४० कित्ता, २५ मेगावाटको दोर्दी खोला ए आयोजनाको प्रवद्र्धक लिबर्टी इनर्जीलाई ३७ करोड ५० लाख अर्थात् ३७ लाख ५० हजार कित्ता र ७ मेगावाटको मर्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक युनाइटेड इडी मार्दी एन्ड आरपी हाइड्रो लिमिटेडेलाई १० करोड ५० लाख अर्थात १० लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न स्वीकृति आयोगले दिएको छ ।

त्यसैगरी माउन्टेन इनर्जी नेपाललाई ३९ करोड ३६ लाख ५ हजार ४ सय अर्थात ३९ लाख ३६ हजार कित्ता सेयर निष्कासन गर्न आयोगले स्वीकृति दिएको छ ।
नियमन आयोगले तोकेको चारवटै परियोजनाको क्रेडिट रेटिङ गरिसकेको आयोजनालाई आयोगको प्रावधान अनुसार सबै सूचांकहरू उपलब्ध गराएकोले स्वीकृति दिएको प्रवक्ता धितालले जानकारी दिए । “नियमन आयोगको संस्थापक सेयरको सेयरधनी चुक्ता भएको, प्रगति ५० प्रतिशत बढी भएको लगायतका आवश्यक सूचांकहरू र विवरणहरू उपलब्ध गराएकोले नियम आयोगले स्वीकृति दिएका छौं,”उनले भने ।
८.५ मेगावाटको अपी पावरले राइट सेयर, २२ मेगावाटको चाकु खोला जलविद्युत् आयोजना, १२ मेगावाटको दोर्दी खोला, ५ मेगावाटको मैलुड खोला, २५ मेगावाटको सिंगटी हाइड्रोलगायतका अन्य आयोजनाहरूले सेयर निष्कासनको स्वीकृतिका लागि आयोगमा आवेदन परेको छ ।