कारोबार संवाददाता
सोमवार, श्रावण ६, २०७६
906

पुँजीगत लाभकर गणनाको विषयमा देखिएको अन्योलको विषयलाई सोमबार अर्थ मन्त्रालयमा नै छलफल गरेर टुंगोमा पु¥याइने भएको छ । वेटेड एभरेजका आधारमा पुँजीगत लाभकर गणना गर्ने भनिए पनि खरिद मूल्य लगानीकर्ता आफैंले हाल्ने भनेपछि विवाद बढेको छ ।
लगानीकर्ताले खरिद मूल्यसहित फारम धितोपत्र ब्रोकरकोमा गएर नबुझाउने भन्दै स्पष्ट गणना विधि लागु गर्नुपर्ने माग गरेका छन् । उनीहरूले यसका लागि आइतबार अर्थमन्त्रालयमा राजस्व सचिवलाई भेटेका थिए । लगानीकर्तासँगको भेटपछि अर्थ सचिवको निर्देशनमा धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज(नेप्से), केन्द्रीय निक्षेप सेवासँग छलफल गरेको थियो । तर, आइतबार भएको धितोपत्र बोर्ड, नेप्से तथा सीडीएसको बैठकले कुनै निर्णय गर्न नसकेपछि सोमबार अर्थ मन्त्रालयमा नै गएर टुंगो लगाउने सहभागी एक अधिकारीले बताए । “करको विषयमा निर्णय गर्ने अधिकार नेपाल धितोपत्र बोर्डलाई नभएकाले अर्थ मन्त्रालयमा नै जान लागेको हो,” उनले भने, “सेयरको खरिद मूल्य नभएको अवस्थामा औसत मूल्य कुनलाई मान्ने भन्ने विषयमा एउटा ‘कट अफ डेट’ तोक्नुपर्छ, त्यस विषयमा मन्त्रालयसँग छलफल गरेपछि मात्र निष्कर्ष आउँछ ।”

लगानीकर्ताका संगठनले संयुक्त रूपमा राजस्वसचिव लालशंकर घिमिरेलाई समेत भेटेका थिए । घिमिरेले लगानीकर्ताका समस्या समाधानका लागि पहल गर्ने जनाएको लगानीकर्ताहरू बताउँछन । सचिवको निर्देशनमा पुँजीगत लाभकर गणनाको विषयमा समाधान गर्ने धितोपत्र बोर्डलाई निर्देशन दिएपछि बोर्डले बजारका सम्वद्ध पक्षहरूसँग छलफल गरेको हो । नेपाल धितोपत्र बोर्ड, नेप्से र सीडीएस एन्ड क्लियरिङका प्रमुखबीच छलफल भएको हो । भारित औषतको विषयलाई लिएर लगानीकर्ताहरूले असन्तुष्टि जनाउँदै आएका छन् । यसैबीच, आइतबार बिहान सेयर लगानीकर्ता र ब्रोकरबीच पुँजीगत लाभकर गणनामा देखिएको विवाद साम्य नभएसम्म सेयर कारोबारको राफसाफ नगर्ने सहमतिसमेत भएको छ ।
धितोपत्र ब्रोकरहरू केन्द्रीय निक्षेप सेवाको निर्देशनअनुसार लगानीकर्ताले सेयर खरिद गरेको मूल्य खुलाइ तोकिएको फर्म भर्न भनेपछि ब्रोकर कार्यालयमा गएर फारम भर्ने तथा ल्याप्चे लगाउने कार्य नगर्ने घोषणा गरेका थिए । साथै लगानीकर्ता संगठनहरूले लगानीकर्तालाई समेत आग्रह गरेका थिए । आइतबार लगानीकर्ताले सीडीएस एन्ड क्लियरिङ लिमिटेड लगायत सरोकारवाला निकायमा दबाब दिएका थिए ।
साउन १ गतेबाट वेटेड एभरेज विधिबाट पुँजीगत लाभकर गणना गर्ने व्यवस्था लागू भएको थियो । सीडीएस एन्ड क्लियरिङ हाउसले वेटेड एभरेजको आधारमा पुँजीगत लाभकर गणना विधि लागू गरेको थियो । चालू आर्थिक वर्षको बजेटमार्फत लाभ गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो । त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामित्वमा हितको भारित औषत लागतको आधारमा गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।