भुवन पौडेल
बुधवार, श्रावण १, २०७६
1995

पुँजीगत लाभकरको गणना बुधबारदेखि वेटेड एभरेज विधिअनुसार हुने भएको छ । जेठ १५ मा ल्याइएको बजेटमा गरिएको व्यवस्थाअनुसार नयाँ आर्थिक वर्षसँगै लाभकरको गणना विधि परिवर्तन हुने भएको हो । सेयर कारोबारको पुँजीगत लाभकर गणनासम्बन्धी व्यवस्थाले सबै लगानीकर्तालाई न्याय गरेको जनाइएको छ । यसअघि बुक क्लोजको सेयर मूल्यमा औसत निकाली पुँजीगत लाभकर गणना गर्नुको साटो भारित औसतका आधारमा निकालिने भएकाले लगानीकर्तालाइ राहत हुने भएको हो ।
विगतको व्यवस्थाले दोस्रो बजारमा सेयर खरिद गरेको मूल्यले पुँजीगत लाभकरलाइ फरक पर्ने भए पनि नयाँ व्यवस्थाले यसलाई एकरूपता दिने भएको छ । बोनस तथा हकप्रद सेयरको सेयर मूल्य समायोजन गर्दा खरिद गरेको मूल्यमा बोनस तथा हकप्रद सेयरको अंकित मूल्यलाइ पनि जोडेर कुल सेयर संख्याले भाग गरेर भारित औसत निकालिन्छ । त्यसपछि आम्दानी भएको रकममा पुँजीगत लाभकर लाग्ने नेप्सेका निमित्त प्रबन्धक निरञ्जन फुयाँलले बताए । “विगतमा कम्पनीअनुसार औसत मूल्य हुन्थ्यो,” उनले भने, “नयाँ व्यवस्थाले सबै सूचीकृत कम्पनीको निश्चित औसत मूल्य आउँछ, जसले एकरूपता पनि ल्याउनेछ ।” नयाँ भारित औसत विधिले लगानीकर्तालाइ सेयरको दायित्व बढाउने घटाउने भन्दा पनि बास्तवीकता मूल्य दिने उनले बताए ।

मंगलबारसम्म नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले सूचिकृत कम्पनीले हकप्रद र बोनस सेयरको आधार मूल्य सुचिकृत कम्पनीले विगतमा जारी गरेको हकप्रद र बोनस सेयरलाई पनि आधार मानेर तय गर्दै आएको थियो । सो अनुसार बजार मूल्यमा बोनस सेयर र हकप्रद सेयरको प्रतिशत घटाई बुक क्लोजको अघिल्लो दिन र भोलिपल्टको सम्पत्ति तय गथ्र्यो । त्यो बरावरको भएको सम्पत्तिमा कर प्रयोजनका लागि विगतलाई पनि हेरेर आधार मूल्य तयार गर्ने व्यवस्था थियो ।
सरकारले बोनस र हकप्रद सेयरमा अंकित मूल्यलाई आधार मानी पुँजीगत लाभ कर लगाउने व्यवस्था गरेपछि सेयर लगानीकर्ताले धितोपत्र खरिद बिक्री रोकेपछि अर्थ मन्त्रालयले तत्कालका लागि पुरानै व्यवस्थाअनुसार लाभकर लिने निर्णय गरेको थियो । अर्थ मन्त्रालय, धितोपत्र बोर्ड, केन्द्रीय निक्षेप सेवा तथा लगानीकर्ता संघका प्रतिनिधिबीच भएको छलफलपछि तत्कालका लागि पुरानै व्यवस्था हुने सहमति भएपछि भएपनि कारोबार गर्न थालेका थिए । सरकारले अर्थ मन्त्रालयको सहसचिवको संयोजकत्वामा पुँजीगत लाभ करको विषयमा अध्ययन गरी सुझाव पेश गर्न समिति गठन गरेको थियो । सो समितिले वेटेड एभरेजका आधारमा पुँजीगत लाभकर लगाउने सुझाएपछि चालू आर्थिक वर्षको बजेटमा पनि सोही व्यवस्था भएको हो । बजेटमा भएको व्यवस्थाअनुसार पुँजीगत लाभकरण गण्ना हुने बुधबार पहिलो दिन हो ।
चालू आर्थिक वर्षको बजेटअनुसार व्यक्तिका हकमा पाँच प्रतिशत सेयर कारोबारवापत हुने लाभमा पुँजीगत लाभकर लाग्नेछ । गत आर्थिक वर्षमा यस्तो लाभकर ७.५ प्रतिशत थियो भने संस्थाको हकमा १० प्रतिशत थियो । तर, चालू आवमा संस्थाको हकमा गत वर्षकै दर कायम रहेको छ । त्यसैगरी सेयर कारोबारमा पुँजीगत लाभकर गणना गर्दा जुन निकायको हित निसर्ग हुने हो । त्यस्तो निकायमा सो मितिमा सो व्यक्तिको स्वामितवमा रहेको हितको भारित औसत लागतको आधारमा गणना गर्नुपर्ने व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७२-७३ मा ५ अर्ब ३२ करोड ३० लाख र २०७३-७४ को १० अर्ब २६ करोड ६७ लाख रुपैयाँसमेत गरी १५ अर्ब ५८ करोड ९७ लाखमा ५ प्रतिशतले हुने कर ७७ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर घटी दाखिला भएको जनाएको छ ।