कारोबार संवाददाता
बिहिवार, असार १९, २०७६
464

मंगलबार दोहोरो अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार पनि दोहोरो अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १५.६२ अंकले बढेर १ हजार २६८.६८ विन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.०२ अंकले बढेर २७२.९८ विन्दुमा पुगेको छ ।
परिसूचक बढेसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । बुधबार कुल १७४ कम्पनीका २० लाख ६४ हजार ९१३ कित्ता सेयर ५५ करोड २ लाख ४७ हजार ८ सय १३ रुपैयाँमा खरिद बिक्री भए । स्टकका अनुसार कारोबार भएका ११ उपसमूहमध्ये सबै उपसूहको सेयर उकालो लागेको छ । बैंकिङ १३.७६, होटल १.६९, विकास बैंक १४.३९, जलविद्युत् १४.९४, वित्त २.९५, निर्जीवन बिमा ९३.४१, उत्पादन १८.४६, अन्य ८.५७, लघुवित्त २६.०२, जीवन बिमा ९४.९३ र सामूहिक लगानी कोष ०.०६ अंकले बढेको छ ।

नेपाल बैंकको सेयर ४ करोड ५३ लाख ३१ हजार ८ सय ७० रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रह्यो । यस्तै सेञ्चुरी कमर्सियल बैंक ३ करोड ४० लाख ८५ हजार १ सय ३० रुपैयाँ, मेगा बैंक नेपाल ३ करोड २६ लाख ६५ हजार ५ सय ४१ रुपैयाँ, प्रभु बैंक लिमिटेड ३ करोड ३ लाख ८६ हजार ९४ र सिभिल बैंक लिमिटेड ३ करोड २ लाख ११ हजार ३८ रुपैयाँमा कारोबार भए ।
बढेको बजारमा रिलायन्स फाइनान्सका सेयरधनीले ६.०६ प्रतिशतले गुमाए । त्यस्तै नाङ्दी ग्रुप पावर ४.९१, युनियन हाइड्रोपावर लिमिटेड ४.६८, रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी ४.३८ र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले २.५ प्रतिशतले गुमाए । सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ८.१०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ६.७६, गणपति माइक्रोफाइनान्स वित्तीय संस्था ५.९९, प्रुडेन्सियल इन्सुरेन्स कम्पनी ५.९५ र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका सेयरधनीले ५.६२ प्रतिशतले कमाए ।