कारोबार संवाददाता
बिहिवार, जेठ ३०, २०७६
608

सिटिजन्स म्युचुअल फन्डले एक अर्ब रुपैयाँबराबरको दोस्रो योजनाको एकाइ खरिद गर्ने असार ७ गतेसम्म बिक्री खुला रहने जनाएको छ । जेठ ९ देखि बिक्री खुला गरेको छिटोमा बिक्री बन्द हुने समयमा पूर्ण बिक्री नभए पनि असार ७ सम्म बिक्री खुला गरेको हो ।
सिटिजन्स बैंक इन्टरनेसनल कोष प्रवद्र्धक रहेको सो योजनामा बुधबारसम्ममा करिब २५ करोड रुपैयाँबराबरको आवेदन परेको छ । सो योजनामा अहिलेसम्ममा व्यक्तिगत लगानीकर्ताको मात्र आवेदन आएको बताउँदै सीआईबीएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत नवराज गिरीले भने, “संस्थागत लगानीकर्ताले बिक्री कन्द हुने अन्तिम समयमा मात्र आवेदन गर्ने भएकाले कम देखिएको हो ।” धितोपत्र बजारको नकारात्मक अवस्थाले पनि सर्वसाधारणको सहभागितामा केही कमी आएको गिरी बताउँछन् । हालसम्म करिब ६ हजार आवेदनले सो योजनानको एकाइ खरिदका लागि आवेदन दिएका छन् । हालसम्मका आवेदकमध्ये अधिकांश साना लगानीकर्ताको सहभागिता छ ।

संस्थागत लगानीका लागि कर्पोरेट सेक्टरमा कुरा भइरहेको गिरी बताउँछन् । आगामी असरा ७ सम्ममा बिक्री खुला हुने भएकाले असार लागेपछि संस्थागत लगानीकर्ताको आवेदन आउने गिरी बताउँछन् ।
सो योजनाको ८ करोड ५० लाख एकाइ कोष प्रवद्र्धक रहेको सिटिजन्स बैंकलाई छुट्याएको छ । सो सामूहिक लगानी कोषको योजनामा आवेदकले न्यूनतम सय एकाइदेखि अधिकतम २ करोड एकाइसम्म आवेदन दिन सक्नेछन् ।
सिटिजन्स म्युचुअल फन्डअन्तर्गत जारी हुने यो दोस्रो बन्दमुखी योजना हो । यो योजना ७ वर्षपटि परिपक्क हुनेछ । सो योजनाको कोष व्यवस्थापकका रूपमा सीआईबीएल क्यापिटल छ । प्रतिएकाइ १० रुपैयाँका दरले १ हजारदेखि लगानी गर्न सकिन्छ । यो योजनाको एकाइ धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि सूचीकरण पनि हुन्छ ।
योजनामार्फत संकलन गरेको रकमको १० प्रतिशत मुद्दती निक्षेपमा, त्यसपछिको अर्को १० देखि २० प्रतिशतसम्म डिबेञ्चर तथा बन्ड निश्चित आम्दानी हुने क्षेत्रमा लगानी गर्ने गिरी बताउँछन् । बाँकी रहेको ७० प्रतिशत रकम प्राथमिक तथा दोस्रो बजारमा लगानी गर्ने योजना रहेको गिरीको भनाइ छ । सो योजनामा लगानी गर्ने लगानीकर्ताले वार्षिक १५ प्रतिशतसम्मको प्रतिफल पाउने सम्भावना छ भने योजना परिपक्क भए पनि मुख्य सम्पत्तिसमेत फिर्ता पाउने खुद सम्पत्तिसमेत फिर्ता पाउनेछन् ।