कारोबार संवाददाता
आइतवार, जेठ २६, २०७६
2869

सेयर बजारमा महिलाका लागि लाभकर घटाउन अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्ताव गरेका छन् । शनिबार नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा बोल्दै खतिवडाले धितोपत्र बोर्डबाट महिलालाई लाभकरमा घटाउने प्रस्ताव आए आफू निकै सकारात्मक हुने बताएका हुन् ।
“हामीले महिलालाई घर जग्गा रजिस्ट्रेशन छुट दिने प्रावधान लागू गरेपछि सहरी क्षेत्रमा २८ प्रतिशत घर जग्गाको स्वामित्व महिलाका नाममा आएको छ, त्यस्तै प्रस्ताव सेयर बजारमा गर्न सके राम्रो हुन्छ,” उनले भने, “सेयर बजारमा देखिएको करको समस्यालाई आगामी आर्थिक वर्षको बजेटमार्फत सम्बोधन गरिसकिएको छ ।” सरकारले बजेटमा लाभकरलाई ७.५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको थियो ।

यस्तै, अर्थमन्त्रले सेयर बजार मौद्रिक नीतिको छायाँको रूपमा विकास गर्न नहुने पनि बताए । बैंकिङ प्रणालीमा तरलता बढ्दा सेयर बजारमाथि जाने र बैंकिङ प्रणालीमा तरलता घट्दा सेयर बजार तल जाने अवस्था हुन नहुने उनले बताए ।
धितोपत्र बोर्डलगायतका नियामक निकायको ऐन संशोधन भइरहेको बताउँदै उनले नियामक निकाय कतैबाट प्रभावित हुनु नहुने बताए । यसका लागि कानुनी रूपमै संरक्षण गर्नु पर्ने उनको भनाइ छ । धितोपत्र बोर्डलाई अझ व्यावसायिक र प्रभावकारी निकायका रूपमा अगाडि बढाउनुपर्छ, उनले भने ।
नियामक निकायले कानुनको परिपालना गराउन सक्ने क्षमता र कानुनको परिपालना गर्ने क्रममा दण्डहीनताको अवस्था आउन नदिने सुनिश्चितता हुनुपर्ने बताउँदै उनले बैंकिङ प्रणालीबाट सिडी, सिसिडी र क्यापिटल एडिक्वेसी हिसाव गरेर लगानी गरेर नपुग्ने हुनाले पुँजी जुटाउने वैकल्पिक उपाय भनेको पुँजी बजारनै भएका बताए ।
यस्तै, बोर्ड अध्यक्ष रेवतबहादुर कार्कीले सेयर बजारमा एनआरएन भिœयाउँदा उनीहरूलाई प्रतिफलको सुनिश्चितता गर्दै यहाँका लगानीकर्ताहरूको पनि हित हुने गरी नियम बनाउने जानकारी दिए । प्राथमिक बजारलाई थप सुधार गर्ने क्रममा बोर्डले ओपन प्राइसिड विडिङ सिस्टमको विकास गर्ने बताउँदै उनले नेपाल टेलिकमको जस्तो महँगोमा सेयर खरिद गर्नुपर्ने अवस्था नआउने दाबी गरे ।


नेपाल धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा धितोपत्र बोर्डले कारोबार राष्ट्रिय आर्थिक दैनिकलाई ‘पुँजीबजार पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले उक्त अवसरमा कारोबार राष्ट्रिय आर्थिक दैनिकका सम्पादक कुबेर चालिसेलाई उक्त पुरस्कार तथा नगद ५० हजार प्रदान गरे । नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबारले पुँजी बजार तथा अर्थतन्त्रका विभिन्न आयामलगायतका विषयमा एक दशकदेखि पाठकलाई सुसूचित गर्दै आइरहेको कारण उक्त पुरस्कार प्राप्त गरेको हो ।