कारोबार संवाददाता
शुक्रवार, बैशाख ६, २०७६
1455

नेप्सेले लगानीकर्तालाई लगानीको निर्णय लिन सहयोग होस् भनेर वर्गीकरण गरे पनि नयाँ व्यवस्थामा क वर्गका परेका कम्पनीभन्दा राम्रो कम्पनी सेयर बजारमा सूचीकृत छन् ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गर्ने सूचीकृत कम्पनीको नयाँ व्यवस्थाअनुसार वर्गीकरण गर्दा अधिकांश कम्पनी कमजोर देखिएका छन् । नेप्सेको वर्गीकरणअनुसार २ वटा कम्पनी मात्रै ए वर्गमा परेपछि अधिकांश सूचीकृत कम्पनी कमजोर देखिएका हुन् ।
नेप्सेले लगानीकर्तालाई लगानीको निर्णय लिन सहयोग होस् भनेर वर्गीकरण गरे पनि नयाँ व्यवस्थामा क वर्गका परेका कम्पनीभन्दा राम्रो कम्पनी सेयर बजारमा सूचीकृत छन् । त्यसैगरी तेस्रो त्रैमासको वर्गीकरणमा बी वर्गमा कुनै पनि सूचीकृत कम्पनी अटाउन सकेनन् । नेप्सेले जारी गरेको नयाँ वर्गीकरण अनुसार ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक मात्र ए वर्गमा परेका छन् । एउटा विकास बैंकसहित ३४ वटा कम्पनी नेप्सेको जी वर्गको वर्गीकृत छन् । यस्तै जेड समूहमा चालू अवस्थामा नरहेका समेत गरेर १७० कम्पनी परेको नेप्सेले जनाएको छ ।

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार वर्ग ए मा रहने संगठित संस्थाको कम्तीमा एक अर्ब चुक्ता पुँजी भई सञ्चालन भएको तीन वर्ष पूरा भएको, तीन वर्षदेखि नाफामा रही लाभांश बाँडेको, क्रेडिट रेटिङ संस्थाबाट औसत वा सोभन्दा माथिको रेटिङ प्राप्त गरेको, तोकेको ढाँचामा वित्तीय विवरण राखेको, आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरेको हुनुपर्ने व्यवस्था छ । त्यस्तै नेप्सेमा सूचीकृत भएको कम्तीमा २ वर्ष पूरा भएको हुनुपर्छ । समूह बी वर्गमा पर्ने कम्पनीले ५० करोड चुक्ता पुँजी कायम गरेको, सूचीकृत भएको कम्तीमा तीन वर्ष भएको, विगत तीन वर्षमा दुई आर्थिक वर्ष नाफा गरेको, क्रेडिट रेटिङ संस्थाबाट कम्तीमा औसतभन्दा एक तह मुनीको रेटिङ प्राप्त गरेको र सञ्चित नोक्सानी नभई आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरेको हुनुपर्छ ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को अनुसार सूचीकृत भएका कम्पनी २ वर्ष पूरा नभएसम्म जी वर्गमा राखिने उल्लेख छ । यसरी जी वर्गको वर्गीकरणमा पनि समावेश हुन नसक्ने कम्पनी जेड वर्गमा पर्ने छन् । सूचीकृत संगठित संस्थाको वर्गीकरण गर्दा लगानीकर्ताले जोखिमको स्तर अनुमान गर्न सक्ने नेप्सेको दाबी छ । सोहीअनुसार लगानीकर्ताको कारोबारलाई सहजीकरण गर्न वर्गीकरण आवश्यक छ । तर, राम्रा मानिएका बाणिज्य बैंकहरूसहित लामो समयसम्म कारोबार नभएका कम्पनी पनि एउटै वर्गमा अटाएपछि वर्गीकरणले लगानीकर्तालाई खासै फरक नपार्ने स्पष्ट भएको छ ।
तेस्रो त्रैमासको वर्गीकरणअनुसार लामो समयसम्म कारोबार नभएका बुटवल स्पिनिङ मिल, गोरखकाली रबर उद्योग, ज्योति स्पिनिङ मिल्स, अरूण वनस्पती उद्योगलगायतका कम्पनी र नियमित साधारणसभा गर्दै आएका वाणिज्य बैंक, बिमा र लघुवित्त कम्पनीहरू पनि एउटै समूहमा वर्गीकरणमा परेका छन् ।
धितोपत्र बोर्डले गत साउन १ गतेदेखि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ लागू गर्दै सूचीकृत कम्पनीहरूलाई ए, बी, जी र जेड गरी चार वर्गमा वर्गीकरण गर्ने व्यवस्था गरेको थियो । सोहीअनुसार नेप्सेले सूचीकृत कम्पनीलाई तोकिएका विभिन्न प्रावधानबाट मूल्यांकन गरी वर्गीकरण गरेको हो । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेले सूचीकृत २०६ कम्पनीलाई वर्गीकरणमा समेटेको छ ।