कारोबार संवाददाता
बुधवार, बैशाख ४, २०७६
1517

हिमालय ऊर्जा विकास कम्पनीले सर्वसाधारणतर्फको सेयर मंगलबार बाँडफाँड गरेको छ । रामेछाप र दोलखाको सीमानामा निर्माणाधीन १२ मेगावाटको उपल्लो खिम्ती र ७ मेगावाटको अपर खिम्ती–२ जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी हिमालय ऊर्जाले निष्कासन गरेको सर्वसाधारणतर्फको सेयर बाँडफाँड गरेको हो । ६९ हजार ६ सय ७० जना आवेदकले १० र २० कित्ता सेयर पाएको कम्पनीका सञ्चालक भीम न्यौपानेले जानकारी दिए ।
बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट एन्ड बैंकिङका अनुसार, कुल आवेदकमध्ये ६६ हजार ९ सय ५० जनाले २० कित्ता र २ हजार ७ सय २० जनालाई १० कित्ताका दरले सेयर पाएका छन् । कुल ६९ हजार ७ सय ८ वटा आवेदन परेकोमा ३८ आवेदकको रद्द भएपछि सदर ६९ हजार ६ सय ७० जना आवेदकलाई सेयर बाँडफाँड गरिएको थियो । न्यूनतम ५० देखि अधिकतम ६ हजार ५ सय कित्तासम्म आवेदन गर्ने व्यवस्था रहेको सेयरमा ४८ लाख ९३ हजार ५० कित्ता सेयरका लागि माग भएको थियो ।

कम्पनीले चैत २० देखि २५ गतेसम्ममा आवेदन दिने गरी १३ करोड ६६ लाख रुपैयाँ बराबरको १३ लाख ६६ हजार २०० कित्ता सेयर सर्वसाधारणलाई आह्वान गरिएको थियो ।
करिब ३ अर्ब १५ करोड लागत अनुमान रहेको आयोजनाको निर्माण कार्य आगामी असारभित्र सम्पन्न गर्ने योजना छ । आयोजनाका अनुसार, दुवै आयोजनाको सिभिलतर्फ ८० प्रतिशत, इलेक्ट्रोमेकानिलतर्फ ६० प्रतिशत र पेनस्टक पाइतर्फ ७७ प्रतिशत काम पूरा भएको छ ।