कारोबार संवाददाता
मंगलबार, बैशाख ३, २०७६
910

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सोमबारदेखि पाँच लाख रूपैयाँभन्दा माथिको कारोबारमा स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेपछि ठूला कारोबारमा कमी आएको छ । प्यान बुझाउनुपर्ने भएपछि ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार ५६ वटा मात्र भएका हुन् ।
गत चैत २८ गते बिहीबार मात्र ५ लाखभन्दा बढी रकमको ८० वटा सेयर कारोबार भएका थिए । ५ लाखभन्दा कम रकमको सेयर कारोबार गर्ने लगानीकर्ता पनि स्वेच्छिक रूपमा प्यानमा आबद्ध हुन सक्ने व्यवस्था छ । सोमबार सेयर बजारमा कुल ५ हजार ४०५ वटा कारोबार भएका छन् । त्यसैगरी कारोबार रकम पनि ३० करोडमा सिमित रहेको छ । तर, सोमबार बजार परिसूचक नेप्से भने ४.७० अंकले बढेको छ ।
वैशाख १ गतेदेखि ५ लाख बढीको सेयर कारोबारमा प्यान अनिवार्य गरेपछि प्यानमा आबद्ध हुने लगानीकर्ताको संख्या भने बढ्दै गएको छ । आन्तरिक राजस्व विभागसँग नेप्से तथा सेयर दलालको प्रणाली इण्टिग्रेट गरिएको छैन । जसले गर्दा प्यान लागू हुने गरी भएको कारोबारको प्रणालीमा कर गणना हुन सकिरहेको छैन ।