कारोबार संवाददाता
बुधवार, चैत्र २७, २०७५
1159

 लगानीको सुनिश्चितता भइसकेको दुई आयोजनालाई समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’ मा समेटेर सोही नीतिअनुसार सेयर निष्कासन गर्ने भएको छ ।  लगानीको सुनिश्चितता भइसकेको दुई आयोजनालाई समेत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘जनताको जलविद्युत् कार्यक्रम’ मा समेटेर सोही नीतिअनुसार सेयर निष्कासन गर्ने भएको छ ।  मन्त्रालयले सार्वजनिक १९ जनताको जलविद्युत् आयोजनासमेत नसमेटिएका रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सेयर निष्कासन गर्न लागिएको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको दुई आयोजनाको सेयर निष्कासन गर्न लागिएको मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा जानकारी दिइयो । ऊर्जामन्त्री वर्षमान पुनले मन्त्रालयमा आयोजनाको गरेको पत्रकार सम्मेलनमा निर्माणको अन्तिम चरणमा पुगेको जलविद्युत आयोजनालाई जनताको जलविद्युत् कार्यक्रम ल्याउँदा सर्वसाधारणको आकर्षण बढ्ने भएकोले समेटिएको बताए । उनले दुवै आयोजनामा सबै मन्त्रीहरुले एक सयभन्दा बढी कित्ता सेयर हाल्न लागेको पनि जानकारी दिए ।  स्वदेशी पुँजीको सञ्चालन गरी जलविद्युत् आयोजना निर्माण गर्नका लागि जनताको जलविद्युत् कार्यक्रम सुरु गरिए पनि अहिले मन्त्रालयले लगानी जुटिसकेका आयोजनाहरुलाई समेत कार्यक्रममा समेट्ने थालेको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाले तथा ४२.५ मेगावाटको साञ्जेन र १४.८ मेगावाटको अपर साञ्जेनले आगामी वैशाख ६ गतेदेखि सर्वसाधारणका लागि सेयर सार्वजनिक गर्दैछन् ।   रसुवागढीले १ अर्ब २ करोड ६३ लाख १५ हजार रुपैयाँबराबरको १ करोड २ लाख ६३ हजार १ सय ५० कित्ता सेयरमध्ये ९३ करोड ३९ लाख रुपैयाँ बराबरका ९३ लाख ३९ हजार ४ सय ६७ कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको छ । त्यसैगरी साञ्जेन र माथिल्लो साञ्जेनले आयोजनाको ५४ करोड ७५ लाख रुपैयाँ मूल्यको ५४ लाख ७५ हजार कित्ता सेयर निष्कासन गर्ने मध्ये सर्वसाधारणका लागि ४८ करोड ८२ लाख बराबरका ४८ लाख ८२ हजार २ सय ५० कित्ता सर्वसाधारणका लागि निष्कासन गर्दैछ । लगानी गर्न इच्छुक लगानीकर्ताले छिटोमा वैशाख १० गतेसम्मसम्म सेयर लगानी गर्न सक्नेछन् । सर्वसाधारणले रसुवागढीको सेयर न्यूनतम ५० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म र सान्जेनको न्युनतम ५० कित्तादेखि अधिकतम २ हजार कित्तासम्म आवेदन दिन पाउनेछन् ।  रसुवागढीले सेयर निष्कासन गरी बाँडफाँड गर्न बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल र सह–बिक्री प्रबन्धकमा एनआइबीएल एसीई, ग्लोबल आईएमई र सनराइज क्यापिटललाई तोकेको छ । यसैगरी, सान्जेनले बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सह–बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटलाई चयन गरेको छ ।  विद्युत् प्राधिकरणका अनुसार, गत माघमै सम्पन्न हुनुपर्ने रसुवागढी आयोजनाको उत्पादन मिति एक बर्ष धकेलिएको छ । रसुवागढी जलविद्युत् आयोजनाले अर्को वर्षको फागुन ७ गतेसम्ममा विद्युत् उत्पादन थाल्ने गरी निर्माण सम्पन्न हुने मिति परिवर्तन गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको तालिका अनुसार, गत माघमै निर्माण सम्पन्न गर्ने लक्ष्य साञ्जेन जलविद्युत् कम्पनीको माथिल्लो आयोजना एक वर्षभित्रमा आउने र अर्को आयोजना डेढ वर्षमा आउने कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।