कारोबार संवाददाता
बिहिवार, चैत्र २१, २०७५
679

मंगलबार दोहोरो अंकको वृद्धि भएको सेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर १ हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ ।
धितोपत्र बजारमा बुधबार कुल १७० कम्पनीका २० लाख २९ हजार १५ कित्ता सेयर ५४ करोड ५८ लाख १८ हजार ६ सय १९ रुपैयाँमा खरिद बिक्री भए । कारोबार भएका १० उपमूहमध्ये बुधबार दुई उपसमूहको सेयर उकालो लागेको छ भने ८ उपसमूहको सेयर ओरालो लागेको छ । बैंकिङ ४.५३ र विकास बैंक ६.११ बिन्दुले बढ्दा होटल १५.८१, जलविद्युत् ३.९६, वित्त २.०३, निर्जीवन बिमा ६.६१, उत्पादन ५.१२, अन्य ०.९२, लघुवित्त २.३९ र जीवन बिमा ३.८३ बिन्दुले घटेको छ । स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सेयरधनीले ४.६४ प्रतिशतले कमाएका छन् । यस्तै कन्काई विकास बैंकका सेयरधनीले ४.१३, लक्ष्मी इक्युटी फन्डका सेयरधनीले ३.८८, स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर धनीले २.८३ र सांग्रिला विकास बैंकका सेयरधनीले २.८० प्रतिशतले कमाएका छन् ।
त्यस्तै युनिभर्सल पावर कम्पनीका सेयरधनीले ९.८४, सिन्धु विकास बैंकका सेयरधनीले ४.९२, घलेम्दी हाइड्रोका सेयरधनीले ४.६३, हिमालय पावर पार्टनर लिमिटेडका शेयरधनीले ३.६८ र भागर्व विकास बैंकका सेयरधनीले ३.६८ प्रतिशतले गुमाएका छन् ।