कारोबार संवाददाता
मंगलबार, चैत्र १९, २०७५
955

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली सञ्चालनमा ल्याएपछि कारोबार चाप बढेको छ । पहिलोको नेप्सेको अनलाइन प्रणालीबाट हुने कारोबारको तथ्यांकभन्दा लगानीकर्ताले नै चलाउने प्रणाली सुरु भए पनि कारोबार संख्या बढेको हो ।
लगानीकर्ताले प्रणाली नचलाउँदा साउनदेखि कात्तिक १९ गतेसम्मको अवधिमा कुनै एक दिन १० हजार पटकसम्म सेयर कारोबार हुँदै आएकोमा पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली आएपछि १५ हजार पटकसम्म सेयर किनबेच भएको नेप्सेले जनाएको छ । लगानीकर्ताले अनलाइन चलाउन थालेपछि पहिलेको तुलनामा कारोबार संख्या ५० प्रतिशतले बढेको हो ।

सोमबार नेप्सेले लगानीकर्ता आफैंले कारोबार अर्डर राख्न सक्ने यवस्था भएपछि धितोपत्र बजारको अवस्थामा धेरै परिवर्तन भएको जनाएको छ । प्रयोगकर्ताले अनलाइन चलाउन थालेपछि कारोबार संख्या र कारोबारमा आएको सेयरको संख्या बढेको छ । बजार घट्दो अवस्थाबाट गुज्रिएका कारण कारोबार रकम भने उस्तै अवस्थामा रहेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार चालू आर्थिक वर्षको सुरुवातदेखि कात्तिक २० गतेसम्मको साढे तीन महिनामा नेप्सेको अनलाइन प्रणालीबाट ३० अर्ब रुपैयाँको सेयर किनबेच भएको थियो । कात्तिक २० पछि लगानीकर्ताले प्रयोग गर्न थालेपछि चैतसम्ममा ३० अर्ब रुपैयाँको नै सेयर कारोबार भएको छ । त्यसैगरी गत साउनदेखि कात्तिक १९ गतेसम्म औसतमा दैनिक ३४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा लगानीकर्ता आफैंले अनलाइन चलाउन थालेपछि पनि औसतमा ३४ करोड रुपैयाँको नै सेयर कारोबार भएको छ ।
गत कात्तिक १९ सम्मको अवधिमा कुनै एक दिनमा ६० लाख कित्तासम्म मात्र सेयर किनबेच भएकोमा लगानीकर्ता आफैंले प्रणाली चलाउन थालेपछि १ करोड कित्तासम्म सेयर कारोबार भएको तथ्यांकले दोखाउँछ । लगानीकर्ता आफैंले सेयर कारोबार गर्न थालेपछि दैनिक रूपमा कारोबार हुने सेयरको संख्यामा ६५ प्रतिशतभन्दा धेरैले बढेको नेप्सेले जनाएको छ । अनलाइन कारोबार प्रणाली लगानीकर्ताको हातमा पुगेपछि बजारको आकार औसतमा ५५ प्रतिशतको हाराहारीमा बढेको नेप्सेको दाबी छ ।