कारोबार संवाददाता
बिहिवार, चैत्र १४, २०७५
915

बुधबार सेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि सेयर खरिद बिक्रीसमेत प्रभावित भएको छ । सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले साँझ ६ बजेसम्म सेयर कारोबार खुला गर्नु परेको हो ।
अनलाइन कारोबार प्रणालीको ब्रोकर ट्रेड म्यानेजमेन्ट सिष्टमको पूर्वाधारमा आएको खराबीका कारण सेयर कारोबार नै रोकिएको थियो । तर, नेप्सेले उक्त समस्या समाधान भए पनि पुनः सेयर कारोबारको समय थप गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । भेण्डर कम्पनीको टीएमएस प्रणालीको राउटर अर्थात फायरवालमा आएको समस्याले लगानीकर्ता सेयर कारोबारबाट बञ्चित हुनु परेको हो ।
अनलाइन कारोबार प्रणाली सुरु गर्ने समयमा सेयर दलालहरूलाई डाटा सेन्टर राख्नका लागि भनिएकोमा आफैंले प्रणाली नराखी भेण्डर कम्पनीको सहायता लिइ काम गर्दै आएका छन् । सेन्टरमा आएको समस्याले ब्रोकरहरू अनलाइन प्रणालीमा लगइन हुन सकेनन् । बुधबार नेप्सेको कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आएको साउदको भनाइ छ । वैकल्पिक फयरवाल जडान भैसकेपछि कारोबार अवरुद्ध भएको एक घण्टा १० मिनेको समय नियमित समयभन्दा पछि कारोबार गरेको हो । नेप्सेको कारोबार प्रणालीमा नभई डाटा सेन्टरमा समस्या आएको हुनाले बुधबारको कारोबारमा समस्या आएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बताए ।