कारोबार संवाददाता
मंगलबार, चैत्र १२, २०७५
831

लगातार घट्दै आएको सेयर बजार सोमबार भने सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ३.८७ विन्दुले बढेर एक हजार १३८.६७ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९५ विन्दुले बढेर २४२.२५ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १६९ कम्पनीको ९ लाख २९ हजार २१७ कित्ता सेयर २४ करोड २६ लाख ५९ हजार ५ सय १५ रुपैयाँमा खरिद बिक्री भएका छन् । कारोबार भएका १० उपसमूहमध्ये सोमबार चार उपसमूहको सेयर भने घटेको छ । ६ वटा उपसमूहको सेयर भने बढेको छ । जलविद्युत् १.७६, वित्त २.१४, उत्पादन २३.७९ र अन्य उपसमूह ३.९७ विन्दुले घटेको छ । यस्तै बैंकिङ ४.७३, होटल ८.५४, विकास बैंक १०.२५, निर्जीवन बिमा ४२.७५, लघुवित्त ५.८७ र जीवन बिमा ५०.३ विन्दुले बढेको छ । स्टकका अनुसार ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५.८६ प्रतिशतले कमाएका छन् ।
नेपाल हाइड्रो डेभलपर्स ३.२५, रिडी हाइड्रो पावर ३.२३, आरम्भ लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ३.२२ प्रतिशतले कमाएका छन् । यस्तै युनिभर्सल पावर कम्पनीका सेयरधनीले १० प्रतिशतले गुमाएका छन् । यस्तै शिवम् सिमेन्ट ९.८०, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था ५.९२, ग्लोबल आईएमई समुन्नत स्किम एकका सेयरधनीले ३.८९ प्रतिशतले गुमाएका छन् । कारोबारका आधारमा मुक्तिनाथ विकास बैंकको संस्थापक सेयर २ करोड ८ लाख रुपैयाँ, नागरिक लगानी कोष १ करोड १२ लाख २९ हजार ८२ रुपैयाँ, नेपाल क्रेडिट एण्ड कमर्सियल बैंक ८८ लाख ६४ हजार ४ सय ९८ रुपैयाँ, माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी ८४ लाख ३६ हजार २५ रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ८२ लाख ८२ हजार ७ सय ५६ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा छन् ।