कारोबार संवाददाता
शुक्रवार, चैत्र ८, २०७५
771

खस्यौली-केही दिन सेयर बजार उकालो लागेपछि प्रदेश नं ५ को अस्थायी राजधानी बुटवलमा लगानीकर्ता उत्साहित देखिएका छन् । बुटवलमा रहेका लगानीकर्ताले सेयर बजार ‘बुलिस साइकल’ तर्फ अग्रसर भएको आँकलन गर्दै अझै पनि बजारले स्पष्ट मार्ग समात्न नसकेको बताएका छन् ।
उनीहरूले सानो सानो लगानी गरेर बजारबाट लाभ लिन आग्रह गर्दै यस्तो बेलामा संयमतापूर्वक लगानी गर्न आवश्यक भएकामा जोड दिएका छन् । “करिब पाँच महीनादेखि सेयर बजार ‘स्टेट प्रियड’ मा छ, बजार घट्ने वा बढ्ने भइरहन्छ तर आत्तिहाल्नुपर्ने अवस्था हुँदैन,” नेपाल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष कमल तिवारीले बताए । उनले सेयर बजारको ‘वियरिस चरण’ र ‘स्टेट लाइन’ दुवै अन्त्य भएको उल्लेख गर्दै सेयर बजारको आफ्नै साइकिलिङ हुने बताए । लामो समयदेखि सेयर बजारमा लगानी गरिरहेका अध्यक्ष तिवारीले सेयर बजारमा लगानी गर्दा हल्लाका भरमा मात्रै प्रवेश नगर्न अनुरोध गरे ।

सेयर बजारको ‘हब’ का रूपमा स्थापित बुटवलमा रहेका पाँच दलाल (ब्रोकर) कार्यालयले सेयर खरिद तथा बिक्री गर्न दाङ, कपिलवस्तु, गुल्मी, अर्घाखाँची, पाल्पालगायतका लगानीकर्तालाई सेवा प्रदान गर्दै आएका छन् । यहाँका ब्रोकर कार्यालयमा झन्डै दैनिक १ करोड रुपैयाँ बढीको कारोबार हुने गरेको छ ।
एसियन सेक्युरिटिज प्रालि, (२६) नं दलाल कार्यालयका पुष्पनिधि ढकालले कार्यालयमा सोचे जस्तो कारोवार नभएको उल्लेख गर्दै बजार हरियो हुँदा लगानी बढ्ने रातो हुँदा घट्ने अवस्था देखिएको बताए । “बजार लगानीकर्ताको आत्मबलमा चल्छ आत्मबल दिगो र दरिलो नहुँदा पनि समस्या देखिएको छ,” उनले भने । पछिल्लो समय व्यवस्थापन संकायका विद्यार्थी, गृहिणी, व्यापारी, व्यवसायी शिक्षक सेयर बजारमा आकर्षित भएका छन् ।
रुपन्देहीको सैनामैनाका विष्णु पन्थीले सेयर बजारले आकार लिन थालेको उल्लेख गर्दै बजारको अवस्था अझै निश्चित नभएको बताए । उनले बजारको वास्तविक गति पत्ता लगाउन अझै अध्ययन आवश्यक भएकोमा जोड दिँदै लगानी विस्तार गर्न आग्रह गरे । सेयर बजारमा बुलिसलाई बढ्ने र वियरिसलाई घटेको अवस्थामा व्याख्या गर्ने गरिन्छ ।