कारोबार संवाददाता
आइतवार, चैत्र ३, २०७५
770

–पहिलो सेयर प्रधानमन्त्रीले किन्ने
–पौने चार करोडको सेयर

–रेटिङ गर्नु नपर्ने बोर्डको निर्णय

‘जनताको जलविद्युत्’ कार्यक्रमअन्तर्गत पहिलो सेयर त्रिशूली ३ बीको निष्कासन भएको छ । बिहीबारदेखि सर्वसाधारणका लागि आवेदन खुल्ने त्रिशूली ३ बी आयोजनाको क्षमता ३७ मेगावाट छ । फागुन २ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले नुवाकोटमा निर्माण गर्न लागेको सो आयोजनाको सेयर खुला गर्न लागिएको हो ।  मन्त्रालयले ४९ प्रतिशत जनताको सेयर रहने तथा सुरुमा १० प्रतिशत सेयर दिने गरी १ खर्ब बराबरको १९ आयोजनाको सेयर जनतालाई दिने सार्वजनिक गरेको थियो । कम्पनीले सर्वसाधारणलाई जारी गर्ने १५ प्रतिशत अर्थात ३५ करोड ९३ लाख ८ हजार ५ सय रुपैयाँ सेयरमध्ये १० प्रतिशत अर्थात ३ करोड ७० लाख ५० लाख रुपैयाँ बराबरको सेयर सार्वजनिक गर्न लागेको हो । चैत ७ देखि खुला गरेर छिटोमा १२ चैत र ढिलोमा वैशाख ६ गतेसम्म सेयर आवेदन दिन पाउनेगरी आह्वानपत्र जारी गरेको छ । बढीमा एक हजार कित्तासम्म जारी गर्न पाउने सेयरको सय रुपैयाँ मूल्य अंकितमध्ये १० प्रतिशत अर्थात १० रुपैयाँमा आवेदन दिन पाइने व्यवस्था गरिएको छ । जनताको जलविद्युत्का लागि तय गरिएको प्रावधानअनुसार जलविद्युत् आयोजनाको इक्विटी (स्वँपुजी) मध्ये ४९ प्रतिशत जनतालाई दिने तथा सोमध्ये १० प्रतिशत पहिलो चरणमा जनतासँग सेयर आह्वान गर्ने व्यवस्था भएपनि त्रिशूली जलविद्युत् कम्पनीको प्रबन्धपत्रकै व्यवस्था अनुसार १५ प्रतिशत सेयर जारी गर्न लागिएको हो । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमले ३०-३० प्रतिशत सेयर छ । जनताको जलविद्युत्मा ४९ प्रतिशत दिने प्रस्ताव गरिएकाले सो संरचना अनुसार हुने अवस्था छैन । सेयर संरचना घटाउनका लागि कम्पनीको बोर्डबाट पारित गरेर धितोपत्र बोर्डले स्वीकृत दिइ इक्विटीको रूपमा दुवै निकायले हालेको रकम फिर्ता गर्नुपर्ने हुन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले २ फागुनमा जनताको जलविद्युत् कार्यक्रम उद्घाटनको क्रममा ३५ दिनभित्र आफूले पहिलो सेयर किन्ने घोषणा गरेपछि सोही अनुसार कार्यक्रम मिलाउनका लागि मन्त्रालयले त्रिशूली ३ बीको सेयर सर्वसाधारणका लागि खुला गर्नका लागि प्रक्रिया अघि बढाएको छ । यसमा १५ प्रतिशतमध्ये पनि धितोपत्र बोर्डले स्वीकृति दिएअनुसार त्यसको १० प्रतिशत सर्वसाधारणका लागि सेयर जारी गर्न लागिएको हो । अन्य जलविद्युत् आयोजना तथा वित्तिय निकायहरूलाई धितोपत्र बोर्डले लगानीका लागि सहज बनाउनका लागि रेटिङको व्यवस्था अनिवार्य गरे पनि यो आयोजनालाई भने छुट दिएको बोर्डले जनाएको छ । संगठित संस्थाले धितोपत्रको प्रारम्भिक निष्कासन गर्दा क्रेडिट रेटिङ नियमावली, २०६८ को नियम ३ को उपनियम (७) बमोजिम क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिने निर्णय बोर्डद्धारा विहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।   २०७८ साल फागुन २९ गते विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ ।