कारोबार संवाददाता
शुक्रवार, चैत्र १, २०७५
442

आगामी वैशाखदेखि ५ लाख रूपैयाँभन्दा बढीको धितोपत्र कारोबार गर्ने लगानीकर्ताले अनिवार्य रूपमा प्यानमा दर्ता भएको हुनुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सरकारको योजनाअनुसार तत्काललाई ५ लाखभन्दा बढीको कारोबार गर्नेलाई अनिवार्य रूपमा प्यानको दायरामा ल्याउने जनाएको हो ।
सेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने भनिए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबार गर्नेलाई प्यान अनिवार्य गरेको बोर्डले जनाएको छ । ५ लाखभन्दा कमको कारोबार गर्नेहरूले पनि ऐच्छिक रूपमा प्यानमा आबद्ध हुन सक्नेछन ।
सरकारको बजेट कार्यान्वयन कार्ययोजनामा दोसो बजार मार्फत सेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था गरेको थियो । सो अनुसार २०७६ वैशाख १ गतेबाट दोस्रो बजारमार्फत् सेयर खरिद गर्दा स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको थियो । लगानीकर्ता तथा सम्बद्ध पक्षहरूसँग गरिएको छलफलका सुझाव तथा निश्कर्ष एवं अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी वैशाख १ गतेबाट दोस्रो बजारमा एक पटकमा ५ लाख वा सोभन्दा बढी कारोबार गर्ने लगानीकर्तालाई स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ । ५ लाखभन्दा कम लगानी गर्ने तथा साना लगानीकर्तालाई प्रोत्साहित गर्न हाललाई ऐच्छिक रूपमा गर्न सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।