भुवन पौडेल
बिहिवार, फाल्गुन ३०, २०७५
567

♣उपत्यकाबाहिरका लगानीकर्ताको सहभागिता : ७१ प्रतिशत

♣उपत्यकाका लगानीकर्ता : २९ प्रतिशत

♦गत कात्तिकमा सर्वसाधारणमा १ करोड ५८ लाख सेयर निष्कासन गरेको अपर तामाकोसीमा ४.४ गुणा आवेदन प-यो । सो कम्पनीको सेयरका लागि उपत्यकाभित्रबाट २८.९ प्रतिशत अर्थात १ लाख ५६ जना लगानीकर्ताले आवेदन दिए भने उपत्यकाबाहिरबाट ७१.०९ प्रतिशत अर्थात २ लाख ४६ हजार १ सय १७ जनाले आवेदन दिए । 
♦ गत मंसिरमा सर्वसाधारणमा ५ लाख ६० हजार ७ सय कित्ता सेयर निष्कासन गरेको चौतारी लघुवित्तमा ३०.५ गुणा आवेदन परेको थियो । सो कम्पनीको सेयरका लागि उपत्यकाभित्रबाट २९.३५ प्रतिशत अर्थात ८१ हजार ५ सय १९ जना र उपत्यकाबाहिरबाट ७०.६४ प्रतिशत अर्थात १ लाख ९६ हजार १ सय ६९ जनाले आवेदन दिएका थिए । 
♦ यस्तै, माघमा सर्वसाधारणमा ६ करोड ७४ हजार कित्ता सेयर निष्कासन गरेको आशा लघुवित्तमा १८.४ गुणा आवेदन प-यो । सो कम्पनीको सेयरका लागि उपत्यकाभित्रबाट २८.९ प्रतिशत अर्थात ९० हजार ६ सय ७६ ले आवेदन दिए भने उपत्यका बाहिरबाट ७१.०९ प्रतिशत अर्थात २ लाख २३ हजार २ सय ८६ जनाले आवेदन दिए । 


धितोपत्रको प्राथमिक बजार उपत्यकाभन्दा बाहिरका लगानीकर्ताको सहभागिता उपत्यकाको तुलनामा करिब साढे २ गुणा बढी देखिएको छ । प्राथमिक बजारमा जोखिम कम हुने तथा सीडीएस एण्ड क्लियरिङले आस्वाँ सेवा सुरु गरेपछि उपत्यकाबाहिरका लगानीकर्ताको सहभागिता उल्लेख्य बढेको हो । 
पछिल्लो समयमा साधारण सेयर निष्कासन गरेका माथिका कम्पनीहरूकै उदाहरण लिँदा पनि उपत्यकाबाट २९ प्रतिशतमात्र आवेदन परेको देखिन्छ । पछिल्लो समयमा सेयर बजारका लागि अति आवश्यक पर्ने पूर्वाधार केन्द्रीय निक्षेप सेवा सक्रिय भएपछि प्राथमिक बजार उल्लेख्य रूपमा विस्तार भएको होे । सेयर बजारसँग जोडिएका सर्वसाधारणको संख्यालाई हेर्दा पनि उपत्यकाभन्दा बाहिरकै धेरै छ । तर, साधारण सेयरमा लगानी गरेका लगानीकर्ता दोस्रो बजारमा आउनका लागि भने पर्याप्त संरचनाको समस्या छ । धितोपत्रको प्राथमिक बजार उपत्यकाबाहिर भर परे पनि दोस्रो बजार भने उपत्यकाभित्र सीमित छ । प्राथमिक बजारमा लगानी गर्नका लागि बजारसम्बन्धी पर्याप्त ज्ञान आवश्यक नहुने भएर पनि सहभागिता बढी भएको हो । तर, ती लगानीकर्तालाई बजारप्रति सुसूचित गरेर दोस्रो बजारमा सहभागी गराउन आवश्यक रहेको सरोकारवालाहरू बताउँछन् । बैंक पुगेको स्थानामा आस्वाँमार्फत प्राथमिक बजार पुगेको हुनाले पनि उपत्यकाबाहिर सर्वसाधारणको सहभागिता बढेको मर्चेन्ट बैंकर एशोसिएसनका अध्यक्ष धु्रव तिमिल्सिनाको भनाइ छ । मर्चेन्ट बैंकरले सेवा प्रदान गर्ने क्रममा पनि ७७ वटै जिल्लाबाट साधारण सेयरमा आवेदन आउने गरेको बताए । मर्चेन्ट बैंकरले उपत्यकाबाहिर सेवा प्रदान गर्दा आफ्नो मूल कम्पनी बैंक रहेको हुनाले बैंकको काउन्टरमार्फत सेवा दिएको उनले बताए । प्राथमिक बजारमा सेवा दिन मर्चेन्ट बैंकरलाई समस्या नरहेको उल्लेख गर्दै उनले भने, “दोस्रो बजारको सन्दर्भमा पनि एजेन्ट मार्फत दिन सकिन्छ । धितोपत्र बजारमा नियमहरूमा एजेन्टको व्यवस्था पनि छ । त्यो कार्यन्वयन भएको खण्डमा दोस्रो बजारको सेवा दिन पनि समस्या हुँदैन ।” प्राथमिक बजारमा देखिएको सहभागितालाई दोस्रो बजारमा ल्याउनका लागि कस ब्रोकर वा एजेन्टको कानुनी व्यवस्था कार्यान्वयन आवश्यक रहेको उनले बताए । सामान्यतया साधारण सेयरमा लगानी गर्दा जोखिमबिनाको प्रतिफल आउने भएकाले पनि सर्वसाधारणको सहभागिता बढेको धितोपत्र ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट बताउँछन् । “प्राथमिक बजारमा लगानी गर्नका लागि बजारसम्बन्धी पर्याप्त ज्ञानको पनि आवश्यक हुँदैन सोही कारण उपत्यकाबाहिरका सर्वसाधारणको सहभागिता उल्लेख्य भएको हो,” रानाभाटले भने, “प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ता दोस्रो बजारमा कमै आउँछन ।” प्राथमिक बजारमा भएको सहभागितालाई दोस्रो बजारको सेवा तथा अवसर दिने उद्देश्यले उपत्यकाबाहिरका मुख्य ४१ स्थानमा धितोपत्र दलाल कम्पनीहरूको  शाखा स्थापना गरेर सेवा दिइरहेको उनले बताए । प्राथमिक बजारबाट सेयर पारेका लगानीकर्ताले सेयर बिक्री गर्नुपरेको अवस्थामा समस्या भने कायम नै छ । गाँउगाँउबाट साधारण सेयरमा आवेदन दिन सकिने भए पनि त्यसलाई बिक्री गर्न निश्चित सहरहरूमा मात्र आउनुपर्ने अवस्था छ । सेयरप्रति सर्वसाधारणको चासो बढेको समयमा दोस्रो बजार पनि विस्तार गर्ने सन्दर्भमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले पनि सोच्न जरुरी छ ।