कारोबार संवाददाता
शुक्रवार, मंसिर २८, २०७५
876

सरकारले ठूलाठूला कुरा गरेर आशा देखाए पनि वास्तविक समस्या बुझेर समाधान गर्नेतर्फ ध्यान नदिँदा संरचनागत परिवर्तनका वावजुद पनि मुलुकको आर्थिक अवस्थामा परिवर्तन आउन सकेको छैन ।


पूर्वअर्थमन्त्री डा. रामशरण महतले सेयर बजार लगातार रूपमा घट्नु अर्थतन्त्रका लागि नकारात्मक सूचक रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा डा. महतले अर्थतन्त्रको प्रमुख सूचकमध्येको एक रहेको सेयर बजार नौ महिनासम्म निरन्तर ३०० अंकले घट्नु नराम्रो संकेत भएको बताए ।

डा. महतले पद सुहाउँदो जनशक्ति र सुशासनको अभाव, जिम्मेवारी र रकमको बाँडफाँडमा समस्या, फजुल खर्चे प्रवृत्ति, धेरै राजनीतिक पदलगायतका कारण मुलुकमा आशावादी अवस्था नदेखिएको बताए । सामाजिक सुरक्षा कोषको योजना १०÷१२ वर्षदेखि नै सुरु भएको जानकारी दिँदै उनले यसको कार्यान्वयनपछि सरकारले गरेको प्रचारलाई फजुल खर्चको रूपमा अथ्र्याए । सरकारले ठूलाठूला कुरा गरेर आशा देखाए पनि वास्तविक समस्या बुझेर समाधान गर्नेतर्फ ध्यान नदिँदा संरचनागत परिवर्तनका वावजुद पनि मुलुकको आर्थिक अवस्थामा परिवर्तन आउन नसकेको उनको धारणा छ ।
कार्यक्रममा अर्थविद् डा. चन्द्रमणी अधिकारीले एकअर्कालाई दोषारोपण गर्ने प्रवृत्ति हटाउनुपर्ने बताए । अहिले उपभोगको मात्रै अन्तर्राष्ट्रियीकरण भएको भन्दै उनले अब उत्पादनको पनि अन्तर्राष्ट्रियीकरण गर्नुपर्नेमा जोड दिए । अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ९० प्रतिशत नपु¥याएसम्म वास्तविक निजीकरण नहुने उनको भनाइ छ । ऐन नियमको उचित व्याख्या गरिनुपर्ने, राजनीतिक दलहरू आन्तरिक विषयमा मात्रै नअल्झेर राष्ट्रिय मुद्दातर्फ बढी अग्रसर हुनुपर्ने र विदेशी लगानी बढीभन्दा बढी भिœयाउनका लागि विश्वासिलो आधार तय गरिनुपर्नेतर्फ उनको जोड थियो ।
कार्यक्रममा सेयर बजार विज्ञ डा. गोपाल भट्टले नीतिगत व्यवस्थामै भएको कमजोरीका कारण बैंकिङ क्षेत्र एवम् पुँजी बजारमा समस्या देखिएको बताए । बैंकिङ क्षेत्रमा तरलता छ भने सुरक्षित क्षेत्र हेरेर लगानी गर्न पाउने नीति तयार गरिनुपर्ने उनले बताए । अहिलेको अवस्थामा सीसीडी रेसियोमा रिल्याक्सेसनको आवश्यकता रहेको उनले औंल्याए । अन्तर्राष्ट्रियस्तरको क्रेडिट रेटिङ नभएका कारण नेपालमा विदेशी पुँजी ल्याउनका लागि समस्या रहेको भन्दै उनले अहिले बजारमा रहेको ७२ अर्ब तरलतालाई उचित क्षेत्रमा लगानी गर्न दिइनुपर्ने धारणा राखे ।
कार्यक्रममा चेम्बर अफ कमर्स, प्रदेश नं. ५ का अध्यक्ष भीमलाल पौडेलले निजी क्षेत्रलाई काम गर्ने वातावरण नभएको बताए । काम गर्न खोज्दा राजनीतिक दलका कार्यकर्ताको नाजायज माग, स्थानीयको माग, पूर्वाधार अभावलगायतका अवरोध आइपर्ने गरेको उनले उल्लेख गरे । निजी क्षेत्रले नाफाकै लागि लगानी गर्ने भएकाले उसको नाफा मात्रै नहेरी नियमविपरीत गएको छ कि छैन भन्ने विषयमा अनुगमन गर्नुपर्ने उनले बताए । सरकारले निजी क्षेत्रका लागि उचित वातावरण सिर्जना गरी प्रोत्साहन गर्नुपर्ने उनको धारणा थियो ।