कारोबार संवाददाता
बुधवार, पुष २६, २०७४
1153

नेपाल धितोपत्र बोर्डले नक्कली सेयर कारोबार गर्ने गोविन्द घिमिरेविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । घिमिरेले केही समय अघि चिलिमे जलविद्युत् कम्पनी, नेसनल हाइड्रोपावर कम्पनी तथा सानिमा माई हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार गरेको आरोपमा मुद्दा चलाइएको हो ।
बोर्डले नक्कली सेयर कारोबारमा संलग्न अन्य पक्षलाई पनि कारबाही गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको धितोपत्र बोर्ड सञ्चालक समितिले धितोपत्र व्यवसायी दलाल कम्पनी, दलाल कम्पनीका सम्बन्धित कार्यकारी प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन तथा धितोपत्रसम्बन्धी ऐन अनुसार कारवाही गरेको हो ।

चिलिमे हाइड्रोपावर कम्पनीको नक्कली शेयर खरिद बिक्रीमा कुनै व्यक्ति वा संस्थासँग व्यावसायिक सम्बन्ध भएको र सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को बर्खिलाप भएकाले सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन अनुसार अग्रवाल सेक्युरिटिजलाई १० लाख रूपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ ।
त्यसैगरी नेसनल हाइड्रोपावर कम्पनीको नक्कली शेयर कारोबार भएको सम्बन्धमा बोर्डले गरेको अनुसन्धान प्रतिवेदन अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०६९ को दफा ४, दफा १८ र दफा १९ को बर्खिलाप कार्य गरेकाले श्रीहरि सेक्युरिटिजलाई पनि १० लाख रूपैयाँ जरिवाना गरेको जनाइएको छ । ग्राहकको पूर्ण विवरणको अभिलेख नराखी ऐन नियमको पालना नगरेकाले श्रीहरि सेक्युरिटिज र अग्रवाल सेक्युरिटिजलाई धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार प्रत्येक कम्पनीलाई ५० हजार रूपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ ।
त्यस्तै बोर्डले श्रीहरि सेक्युरिटिज तथा अग्रवाल सेक्युरिटिजका सम्बन्धित कार्यकारी प्रमुखलाई धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार प्रत्येकलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ । साथै सिप्रवी सेक्युरिटिज र कार्यकारी प्रमुखलाई पनि ५० हजार जरिवाना गर्दै सचेत गराएको बोर्डले जनाएको छ ।