कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५
1811

काठमाडौं-स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा ३ लाख ३४ हजार ७५ सर्वसाधारणले मंगलबार सेयर पाएका छन् ।
सर्वसाधारणसहित स्थानीयवासी, विद्युत् प्राधिकरण, सञ्चयकर्ता लगायतका कम्पनीबाट गरी ८ लाख नेपालीले माथिल्लो तामाकोसीको सेयर पाएका छन् । पहिलोपटक आफ्नो प्रबन्धपत्रमै १० प्रतिशत स्थानीय सेयर दिने भनेर उल्लेख गरेको तामाकोसी जलविद्युत्मा सर्वसाधारणलाई सेयर दिने कम्पनी बनेको छ । माथिल्लो तामाकोसीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले सर्वसाधारण, स्थानीयवासी, कर्मचारीलगायत गरी ८ लाख नेपालीले सेयर पाएको र हालसम्मको सबैभन्दा बढी तामाकोशीले सर्वसाधारणलाई सेयर दिएको बताए ।

निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानीकोष तथा सनराइज क्यापिटलले मंगलबार सार्वजनिक गरेको आयोजनाको प्रबन्धक अपर तामाकोसीको सर्वसाधारणतर्फ २ अर्ब ८४ करोड ५३ लाख ७५ हजार रुपैयाँबराबरको सेयर पाएका हुन् । आवेदन दिएका सर्वसाधारणले ४० देखि ५० कित्ता पाएका छन् । कम्पनीको १ करोड ५८ लाख ८५ हजार कित्ता साधारण सेयर बाँडफाँड भएको छ । कम्पनीले गत कात्तिक १५ देखि १९ गतेसम्म बिक्री खुला गरेको साधारण सेयर गरेको थियो । कम्पनीका ७ लाख ९४ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
६ करोड ४६ लाख १८ हजार ८ सय ४३ कित्ता सेयरका लागि सर्वसाधाणको आवेदन परेकामा १ करोड ३३ लाख ६३ हजार कित्ता सेयर सबै आवेदकलाई समान ४० कित्ता पुग्ने गरी बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । स्वीकृत कुल आवेदनमध्ये गोला प्रथाबाट छनोट भएका १ लाख ७२ हजार ७ सय ७५ जना भाग्यशालीले थप १० कित्ता सहित ५० कित्ता सेयर प्राप्त गरेको कम्पनीले जनाएको छ ।