कारोबार संवाददाता
बुधवार, मंसिर १२, २०७५
1879

दोलखा-भीमेश्वर नगरपालिका वडा नं. ४ का लोकशंकर चौलागाईंले आफ्नो सेयर नपरेको पैसा फिर्ता लिन बैंक धाएको चौथोपटक भयो । स्थानीय सहकारीबाट १७ प्रतिशत ब्याजमा ऋण लिएर ५ महिनाअघि अपर तामाकोसी हाइड्रोपावर कम्पनीको सेयरमा आवेदन गरेका चौलागाईं एक महिनादेखि पैसा फिर्ता लिन हरेक हप्ता बैंक धाए पनि रित्तो हात फर्कन बाध्य छन् ।
गौरीशंकर गाउँपालिका वडा नं. २ का रामशरण कार्की एक हप्ताअघि चरिकोट आएर परिवारको २ जनामात्रैको रकम फिर्ता लिए २ जनाको रकम आइतबारसम्म पाएका छैनन् । “आफ्नो खाता रहेको बैंकमा सोध्दा तपाइँको खातामा ब्यालेन्स छैन,” भन्ने जवाफ मात्र पाएको उनले बताए ।

उनले पनि सबैले राम्रो आयोजनाको सेयर लिँदा सुनको अण्डा पार्ने भन्ने सुनेर ४ जनाको परिवारको नाममा ३० हजारको दरले १ लाख २० हजार आवेदन गरे । तर प्रतिव्यक्ति ३४ कित्ता सेयर प-यो भन्ने सुने पनि पैसा फिर्ता किन ढिला भन्ने बैंकसँग सोध्ने गर्छन् । अहिले सहकारीको ऋणको किस्ताको भाखा समेत नाघिसक्यो । किस्ता नाघ्दा सहकारीले निरन्तर ताकेता गर्दै आएको छ । सेयर आवेदन गर्न सदरमुकाम आउँदा, फिर्ता लिन आउँदा र सहकारीको व्याज समेत हिसाव गर्दा परेको सेयरभन्दा पनि बढी खर्च भइसकेको उनले बताए ।
यी त प्रतिनिधि पात्रमात्र हुन् । दोलखामा हरेक गाउँ टोलमा यस्तै समस्या छ । एक बैंक कर्मचारीका अनुसार दैनिकजसो पैसा लिन आउँदै फकर्नेहरूको संख्या धेरै छ । कतिले बैंक कर्मचारीलाई गाली गर्छन् । फोनमा सोध्नेहरू पनि उत्तिकै छन् । ति कर्मचारीका अनुसार अझैं एकतिहाई जतिको सेयरमा नपरेको पैसा फिर्ता आउँनै बाँकी छ ।
सुनखानीका उमेश शिवाकोटीलाई लागेको थियो– तामाकोसीले सेयर बाँडफाँट गर्नेवित्तिकै सेयर परेर बाँकी रहेको पैसा आफ्नै खातामा फर्किन्छ र सहकारीको ऋण तिरौँला । तर, सेयर बाँडफाँट भएको करिब १ महिना बितिसक्दा पनि उनको बाँकी रकम फिर्ता आएको छैन ।
अर्का बैंक व्यवस्थापकले भने दैनिकजसो सेवाग्राहीहरूले सेयरको पैसा फिर्ता मागेर हैरान पारेपछि सहबिक्रीप्रबन्धक सनराइज क्यापिटलमा सम्पर्क गर्दा आउँछ भन्ने जवाफमात्र पाउने गरेको बताए । तर, सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकारी विजयलाल श्रेष्ठले नाम र बैंक खाता नमिलेका १५ प्रतिशत जति फारामको मात्र समस्या रहेकाले उनीहरूको पैसा फिर्ता हुन नसकेको जानकारी दिए ।
“बैंकमा पैसा नआएको विषय हामीलाई पनि दैनिकजसो फोन आउने गरेको छ,” उनले भने, “५० हजारजति फारामहरू त्यस्तो रहेकाले सच्याउनेहरूको रकम खातामा गइरहेको छ र नमिल्नेहरूको चेक सम्बन्धित संकलन केन्द्र रहेको बैंकमा पठाइदिन्छौं ।” सेयरको आवेदन फाराममा कतिपयले गलत विवरण भरेको र कतिपय संकलन केन्द्रबाट सही आएका फारामा गलत तथ्याङ्क उल्लेख गरेकाले यस्तो समस्या आएको उनले बताए ।
कम्पनीले आयोजना प्रभावित दोलखावासीका लागि साउन १६ देखि भदौ २१ गतेसम्म १ करोड ५ लाख ९० हजार कित्ता सेयरका लागि निवेदन आह्वान गरेको थियो । आवेदन संकलन केन्द्र रहेका बैंकहरूबाट समेत क्यापिटल आफैंले फाराम संकलन गर्नु पर्नेमा २० दिनसम्म बेवास्ता गरेपछि आयोजना आफैंले फराम संकलन गरेर सनराइज क्यापिटलमा बुझाएको थियो । कति आवेदन प-यो भन्ने बारे क्यापिटलले दसैंपछिसम्म स्पष्ट तथ्यांक दिन सकेन ।
बिक्री प्रबन्धक नागरिक लगानी कोष तथा सहबिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको तामाकोसीको प्राथमिक सेयर (आईपीओ) कात्तिक १५ गते बाडँफाँट भएको थियो । तर, सेयर बाँडफाँट भएको ४ दिनपछि सबै आवेदकको खातामा पैसा जाने बताएको सनराइज क्यापिटलले हालसम्म पनि सबै आवेदकको खातामा पैसा नपठाएको पाइएको हो ।
अति प्रभावित ‘क’ वर्गका ३० कित्तादेखि १०० कित्ता माग गर्ने आवेदकले मागबमोजिम पाएका थिए भने ११० देखि ३०० कित्ता माग गर्नेले १०२ कित्ताका दरले सेयर पाएका थिए । यस्तै ‘ख’ वर्गका ३० कित्ता माग गर्नेले ३० किता ४० कित्ता माग गर्नेले ३२ कित्ता र ५० देखि ३०० कित्ता माग गर्नेले ४८ कित्ता पाएका थिए । ‘ग’ वर्गका ३० कित्ता माग गर्ने लगानीकर्ताले ३० कित्ता, ४० कित्ता माग गर्नेले ३२ कित्ता र सोभन्दामाथि अवेदन गर्नेले ३४ कित्ता पाएका थिए ।

दिलबहादुर केसी