कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५
1160

काठमाडौं-नेपाल पुनर्बिमा कम्पनीले सेयर जारि गर्ने तयारी गरेको छ । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले स्थापनाको पाँचौं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा उक्त कुरा जानकारी दिइएको हो ।
उक्त अवसरमा आयोजित कम्पनीको वार्षिकोत्सव समारोहमा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले बचत वहिर्गमन हुनबाट रोक्ने कार्यमा अहम् भूमिका खेलेको र नेपालको बिमा व्यवसायको विस्तार र विकासमा महत्वपूर्ण योगदान पुराई विद्यमान व्यापार घाटा कम गर्नसमेत महत्वपूर्ण भुमिका खेलेकोमा कम्पनीको खुलेर प्रशंसा गरे । साथै आगामी दिनमा कम्पनीको क्षमता समेत बढ्दै जाने अपेक्षा समेत राखे । त्यसैगरी बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले विदेशी विमकहरूको पुनर्बिमाको उल्लेख्य हिस्सा स्वीकार गरी पुनर्बिमा सेवा दिन सफल भएकोमा कम्पनीलाई बधाई व्यक्त गरे ।

यसै समारोहमा बोल्दै कम्पनीका अध्यक्ष महेशकुमार गुरागार्इंले नेपालको एकमात्र पुनर्बिमा कम्पनीको उद्देश्य नेपाली बिमा बजारको सुदृढीकरण गर्न बिमकहरूलाई सहयोग गर्नु रहेको कुरा प्रस्टयाए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले बिमा व्यवसायलाई समय सापक्ष बनाउन आफ्नो दक्षता अभिवृद्धद्ध गर्दै अन्तर्राष्ट्रिय स्तरको पुनर्बिमा सेवा पुराउने प्रतिबद्धता जनाए । साथै, उनले छिट्टै तेस्रो मुलुकमा शाखा स्थापना गरी सेवा विस्तार गर्ने र केही महिना भित्रै सर्वसाधारणलाई कम्पनीको सेयर जारीसमेत गर्ने पनि जानकारी गराए ।
साथै उक्त समारोहमा कम्पनीका उत्कृष्ट सेवा गर्ने कर्मचारी बिनिता खनाल र अनिता गौतमलाई नगद पुरस्कारका साथ सम्मान गरियो ।
नेपाल सरकारको प्रमुख लगानी रहेको यस कम्पनीको ८ अर्व ४० करोड चुक्ता पुजी रहेकोमा यस आवमा करिब ४ अर्व प्रिमियम संकलन गरी १ अर्ब १३ करोड नाफा आर्जन गर्न सफल रहेको छ ।