कारोबार संवाददाता
आइतवार, कार्तिक २५, २०७५
1155

एनसीएचएलसँग १२ ब्रोकरको साझेदारी

काठमाडौं- सेयर ब्रोकरहरूलाई गरिने भुक्तानी सोझै अनलाइनबाट गर्न सकिने भएको छ । सेयर कारोबारलाई अटोमेसनमा लान गरिएको पहललाई सहयोग पुग्ने गरी सेयर ब्रोकरलाई गरिने भुक्तानी नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस इपेमेन्ट प्रणालीमार्फत सीधै भुक्तानी हुने व्यवस्था मिलाइएको हो । लगानीकर्ताहरूले सेयर खरिद गरेबापतको ब्रोकरलाई गर्नुपर्ने भुक्तानी कनेक्ट आईपीएसको वेबसाइटमा गएर आवश्यक विवरण भरी आफ्नो बैंक खाताबाट सोझै सम्बन्धित ब्रोकरको बैक खातामा रकमान्तर गर्न सक्नेछन् ।
हालसम्ममा यस प्रणालीमा १२ वटा ब्रोकर (ब्रोकर नम्बर १०, ११, १३, १६, १७, २०, २१, २२, २५, ३८, ४९, ५९) कम्पनी आबद्ध भइसकेका छन् । अन्य ब्रोकरहरूलाई पनि यस प्रणालीमा आबद्ध गराउने क्रम जारी छ । नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवद्र्धित नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आइपिएस प्रणालीमार्फत सरकारको राजस्व भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाइल वालेट फन्ड लोडजस्ता कारोबार गर्न सकिने कम्पनीले जनाएको छ । कनेक्ट आईपीएस प्रणालीमा हालसम्म ४४ बैंक तथा वित्तीय संस्थाहरूले सम्झौता गरिसकेकामा हालसम्म ३४ वटा बैंक वित्तीय संस्थाहरुबाट यो सेवा उपलब्ध भइरहेको छ ।