कारोबार संवाददाता
शुक्रवार, कार्तिक ९, २०७५
1275

इलाम- इलामबाट उत्पादन भइरहेको जलविद्युत् कम्पनीले सेयर कारोबार सुरु गरेको छ । सन्दकपुर गाउँपालिकाको माबु र सुलुबुङबीचमा पर्ने माई नदीबाट उत्पादित पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको हो । १२ मेगावाटको अपरमाई जलविद्युत् आयोजना र ६ दशमलव १ मेगावाटको माथिल्लो माई सी आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीको सेयर कारोबार सुरु गरेको कार्यकारी निर्देशक सन्तोषकुमार प्रधानले जानकारी दिए ।
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भई भर्खरैबाट कम्पनीको कारोबार सुरु भएको जनाइएको छ । कम्पनीको प्रतिकित्ता सय रुपैयाँ अंकित १ करोड १० लाख कित्ता सेयर सूचीकृत गरेर कारोबार सुरु गरिएको कार्यकारी निर्देशक प्रधानले बताए । उनका अनुसार कारोबार सुरु गर्न कम्पनी र स्टक एक्सचेन्जबीच सम्झौता भई काम अघि बढेको हो ।
सूचीकृत गरी कारोबार सुरु गरिएकोमध्ये ८८ लाख कित्ता संस्थापक सेयर छ । २२ लाख कित्ता साधारण सेयर छ । कम्पनीले स्वपुँजी लगानीको १०-१० प्रतिशत साधारण सेयर २ चरणमा निष्कासन गरेर बाँडफाँड गरेको थियो । साधारण सेयरमध्ये ११ करोड मूल्यको ११ लाख कित्ता आयोजना प्रभावित इलामका स्थानीय र समान ११ करोड मूल्यको ११ लाख कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो । पञ्चकन्या माईसँगै स्टक एक्सचेन्जमा सूचीकृत भई कारोबार गर्ने जलविद्युत् कम्पनीको संख्या २० पुगेको छ ।