कारोबार संवाददाता
बुधवार, पुष १२, २०७४
1210

सेयर बजार घट्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । पछिल्लो समयमा निरन्तर घटेको सेयर बजार परिसूचक मंगलबार पनि २० अंकले घटेको हो । सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएन । पछिल्लो समयमा बैंक वित्तीय संस्थाको ब्याजदर बढेपछि सेयर बजार घट्न थालेको हो । बैंक वित्तीय संस्थामा लगानी योग्य पुँजीको सीमितताका कारण ब्याजदर बढेर निक्षेप लिने क्रम बढेको छ । सेयर बजारमा धितोपत्रको आपूर्ति धेरै भएको अवस्था बजारबाट पैसा झिकेर बैंक वित्तीय संस्थामा निक्षेप राख्न थालेपछि सेयर बजार घटेको हो ।
मंगलबार कारोबार सुरु भएदेखि निरन्तर घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक कारोबार बन्द हुँदासम्ममा निरन्तर घटिरह्यो । कारोबार सुरु हुँदा १४६७.६८ अंकमा रहेको नेप्से २०.६४ अंकले घटेर बन्द हुँदा १४४७.०४ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटीभ इन्डेक्स पनि ४.१६ अंकले घटको छ ।

मंगलबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचक घटेका छन् । नेप्सेमा कारोबार भएका बैंकिङ १८.२१, विकास बैंक ३६.९१, वित्त १६.१६, बिमा १३८.८१, लघुवित्त ३२.६७, होटल २३.४४, व्यापार ४.७३, उत्पादनमूलक ३०.५९ र जलविद्युत् समूह ३६.६२ अंकले घटेका छन् ।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि कमी आएको छ । नेप्सेमा १५९ कम्पनीको ६ हजार २ सय ५ कारोबारबाट ५४ करोड २ लाख रुपैयाँ बराबरको १० लाख ३८ हजार कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबार रकमभन्दा थोरै हो ।