संघीयता कार्यान्वयनको लागि महत्वपूर्ण मानिएको संघीय संसदको प्रतिनिधिसभाको लागि पहिलोपटक भएको निर्वाचनमा एउटा संयोग नै मान्नुपर्छ, वहालवाला प्रधानमन्त्रीदेखि पाँचजना पूर्वप्रधानमन्त्रीले विजय प्राप्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई र केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनमा विजय भएका हुन् ।
प्रतिनिधिसभा निर्वाचनतर्फ नेकपा एमाले र नेकपा माओवादी केन्द्रको ‘बाम गठबन्धन’ दुई तिहाई उन्मुख देखिएको छ । आइतबार बेलुकीसम्म घोषित परिणाममा एमालेले ६१ र माओवादीले २२ गरी गठबन्धनले ८३ सिट जितिसकेको छ । प्रत्यक्षतर्फ १६५ क्षेत्रमा भएको निर्वाचनमा दुई तिहाई ल्याउन ११० क्षेत्रमा जित्नुपर्ने हुन्छ । त्यसका लागि बाम गठबन्धनले अब २७ सिट जित्नुपर्ने हुन्छ ।
बाम गठबन्धनले मुलुकभर उत्साहजनक परिणाम ल्याए पनि राजधानी काठमाडौंको महत्वपूर्ण तीन क्षेत्र भने नेकपा माओबादी केन्द्रले गुमाएको छ । २०६४ को संविधानसभा निर्वाचनमा पहिलो भएको माओबादी २०७० मा शून्य भएको थियो । अहिलेको निर्वाचनमा एमालेसँग गठबन्धन भएपछि पुनः जित्ने आकलन गरिए पनि माओबादीका तीनैजना उम्मेदवारले पराजय बेहोरेका छन् । माओबादीबाट काठमाडौं १ मा अनिल शर्मा, ६ मा झक्कु सुवेदी र १० मा हितमान शाक्यले उम्मेदवारी दिएका थिए । जसमा शर्मा तेस्रो भए भने सुवेदी र शाक्य निकटतम प्रतिद्वन्द्वी रहे ।
पहाड र तराई मधेशका ४५ जिल्लामा प्रदेश र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ । केही छिटपुट घटना भए पनि निर्वाचन उत्साहपूर्वक सम्पन्न भएको हो । मंसिर १० गते ३२ जिल्लामा र २१ गते बिहीबार ४५ वटा जिल्लामा निवाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । केही छिटपुट घटना भएपनि सफलतापूर्वक निर्वाचन सम्पन्न भएको छ । आयोगका अनुसार ६७ प्रतिशतभन्दा बढी मत खसेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो चरणअन्तर्गत बिहीबार भएको निर्वाचनमा अधिकांश उद्योगी व्यवसायीहरूले देशका विभिन्न क्षेत्रबाट मतदान गरेका छन् । पहिलो पटक भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदानसँगै व्यवसायीहरूले अव देशमा स्थायी सरकार र आर्थिक समृद्धि प्राप्त हुने अपेक्षा गरेका छन् । विकास र समृद्धिको विकल्प नभएको भन्दै अधिकांश व्यवसायीहरूले जुनसुकै दलको सरकार भएपनि स्थायी हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनको सफलतासँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गरेको बताएका छन् । बिहीबार प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएलगत्तै नेपाली जनतालाई बधाई दिएका प्रधानमन्त्री देउवाले देश नयाँ युगमा प्रवेश गरेको बताएका हुन् । “आजको रात पीडादायी संक्रमणकालको अन्तिम रात हुनेछ, भोलको विहानीसँगै नेपाल स्थायी शान्ति, आर्थिक समृद्धि र राजनीतिक स्थिरताको नयाँ युगमा प्रवेश गर्नेछ,” प्रधानमन्त्री देउवाले भनेका छन् ।
नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीले नवलपुरको देवचुली नगरपालिकाको वडा नम्बर २ मा रहेको दिव्य युवा क्लब मतदान केन्द्रबाट मतदान गरेका छन् ।
बिहीबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै भारत बंगाल राज्यको सीमासँग जोडिएको झापाको पूर्वी नाका काकँडभिट्टा–पानीट्यांकीसहित अन्य नाकाहरू बन्द गरिएको छ । सोमबार राति १२ बजेदेखि बिहीबार राति १२ बजेसम्म अर्थात् ७२ घण्टा १ सय १८ किलोमिटर नाका बन्द गरिएको झापाका प्रमुख जिल्ला अधिकारी क्रषिराम तिवारीले बताए ।
पहिलो चरणमा प्रतिनिधि र प्रदेश सभा मतदान भएको म्याग्दीमा वडाअनुसार मतगणना हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको आयोजनामा बुधबार बेनीमा बसेको सर्वदलीय बैठकमा वडाअनुसार मतगणना गर्ने निर्णय भएको हो । राजनीतिक दलका प्रतिनिधिहरूले प्रत्येक वडाको छुट्टाछुट्टै मतगणना गर्ने निर्णय गरिएको हो । निर्वाचन आयोगले उम्मेदवारले कुन वडाबाट कति मत आयो भन्ने थाहा नपाउने गरी मतगणना गर्ने व्यवस्था मिलाउने बताएको थियो । एक हजार पाँच सयभन्दा कम खसेको वडाको मतपेटिका भने अर्को वडाको मतपत्रसँग मिसाएर गनिने भएको छ ।
इटहरी– १४ स्थित शान्ति सिर्जना आधारभूत विद्यालय केन्द्र ‘क’ को मतददानको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीलाई दिइएको छ । यस केन्द्रमा मतदान अधिकृतदेखि सुरक्षमा खटिने प्रहरी पनि सबै महिला नै रहेका छन् ।
सरकारले प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको भन्दै निर्भयका साथ मतदानमा सहभागी हुन आह्वान गरेको छ । चारवटै सबै सुरक्षा निकायका जनशक्तिलाई सुरक्षामा तैनाथ गरिएको स्पष्ट पार्दै सरकारले राष्ट्रिय पर्वको रूपमा रहेको निर्वाचनलाई सफल बनाउन आम मतदातालाई अपिल गरेको हो । सरकारले बम विष्फोटलगायत निर्वाचन विरोधी गतिविधिमा संलग्नको विवरण निर्वाचन पछिमात्रै सार्वजनिक गरिने समेत स्पष्ट पारेको छ । निर्वाचन बिथोल्न ‘आपराधिक व्यक्ति तथा समूह’ संलग्न रहेको जनाउँदै सरकारले यसबारे केही समयपछि सबै विवरण सार्वजनिक गरिने जनाएको छ ।
प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनअन्तर्गत आज ४५ जिल्लामा मतदान हुँदैछ । यसअघि मंसिर १० गते ३२ जिल्लामा पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गर्दै आज हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेको छ ।
राजनीतिक संक्रमणका नाममा नेपालमा ९-९ महिनामा सरकार परिवर्तन भइरहन्छन् । गणतन्त्र घोषणापछि बनेका अधिकांश सरकार लामो समय टिक्न सकेको छैनन । २०६४ मा भएको संविधानसभाको निर्वाचनपछि मुलुकले ९ वटा सरकार पाएको छ । यो १० वर्षको अवधिमा दलहरू सत्ता केन्द्रित भए ।
निर्वाचनपछि बन्ने सरकारको पहिलो काम विकासमा मेगा प्रोजेक्टहरूलाई दिशा निर्देश गर्नु हुनेछ भन्दै नेपाली कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीले चुनावी तयारीसँगै कांग्रेसको आगामी पाँच वर्षको विकासको खाकासमेत कोरिसकेको बताए । उनले निर्वाचन प्रचारको अन्तिम दिन सोमबार बुटवल, भैरहवा र दमौलीमा आयोजित भव्य चुनावी सभाहरूलाई सम्बोधन गर्दै मंसिर २१ गतेको निर्वाचनमा नेपाललाई आर्थिक एवं सामाजिक विकासको बाटोमा प्रवेश गराउने वा अर्को पाँच वर्ष यो एजेन्डालाई थाती राखेर देशमा राजनीतिक सौदावाजी मात्रै गरिरहने भन्ने फैसला गर्नुपर्ने भन्दै विकासका लागि कांग्रेसको विकल्प नरहेकोमा जोड दिए ।
दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता कसैले पनि चुनावी प्रचार गर्न पाइँदैन ।