कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५
1789

विराटनगर-   संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तहमा करारमा कर्मचारी राख्ने परम्पराको अन्त्य गर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पण्डितले भने, “करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्ने भएकाले त्यस रोक्न मन्त्रालय लागि परेको छ ।” करारमा कर्मचारी राख्दा योग्य र क्षमतावानभन्दा पनि आफ्ना व्यक्तिलाई राख्ने प्रवृत्तिको विकास भइरहेको उनको कथन थियो ।

मन्त्री पण्डितले स्थानीय तहमा अपुग रहेका कर्मचारी नियुक्ति करारमा गर्दा नातावाद देखिएकाले छिट्टै प्रादेशिक लोकसेवा आयोगको व्यवस्था गरेर मात्रै कर्मचारी नियुक्ति गरिने प्रस्ट पारे । “प्रादेशिक लोकसेवा आयोगले परीक्षा लिएपछि मात्रै अब स्थानीय तहमा कर्मचारी नियुक्ति गर्नुपर्छ,” उनले भने ।
त्यस्तै मन्त्री पण्डितले ९५ प्रतिशत कर्मचारी खटाएको ठाउँमा पुगिसकेको उल्लेख गरे । मन्त्री पण्डितले प्रदेशका मन्त्रालयका कर्मचारीहरू सरुवाको विषयमा आएको टिप्पणी र असहमतिको विषयमा आफू नलाग्ने बताए । उनले केन्द्र सरकारले प्रदेशसँग समन्वय गरेरै प्रशासन चलाउने भएकाले बेला–बेलामा आएका टुक्रे कुरालाई बोक्नु आवश्यक नरहेको उनको भनाइ थियो ।