कारोबार संवाददाता
मंगलबार, असार १२, २०७५
918

संघीय समाजवादी फोरमका नेताहरूले अहिले संविधान संशोधनका लागि दबाब दिने समय भइनसकेको बताएका छन् । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा मिलेर चुनाव लडी प्रदेश नम्बर २ मा सरकार बनाउन फोरमलाई सहयोग गर्ने राष्ट्रिय जनता पार्टीका नेताहरू भने फोरमले गरेको सम्झौता अनुसार संविधान संशोधन हुने विश्वास नभएको बताउँछन् ।
फोरमले सरकारलाई संशोधन गराउन बाध्य पारेर सदनमा संशोधन विधेयक ल्याए आफूहरूले सहयोगका लागि तयार रहेको राजपाका नेताहरूले जनाएका छन् । नेकपा र फोरमबीच भएको सम्झौतामा संशोधनका विषयहरू उल्लेख नभएकाले त्यो पूरा हुनेमा विश्वास गर्न नसकिने राजपाका उपाध्यक्ष वृषेशचन्द्र लालले बताए ।

नेकपा र फोरमबीच भएको दुई बुँदे सम्झौताको पहिलो बुँदामा संघीय समाजवादी फोरम नेपालले आन्दोलनका क्रममा उठाएका माग र मुद्दाहरूका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित विषयहरू देश र जनताको पक्षमा आपसी सहमतिका आधारमा संविधान संशोधन गरी सम्वोधन गरिने उल्लेख छ । साथै सरकारद्वारा गर्न सकिने कामहरू सरकारको नीति तथा कार्यक्रममा समावेश गरिनेछ । उपरोक्त कार्यहरू आन्तरिक गृहकार्य गरी सहमतिमा समाधान गरिने बताइएको छ ।
दोस्रो बुाँदमा ‘उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम नेपाल सरकारमा सामेल हुनेछ’ भनिएको छ । लाल भन्छन्, “फोरमले सदनमा संशोधनको विधेयक ल्याए आफूहरू संशोधनका लागि सहयोग गर्छौं ।”
फोरमका महासचिव तथा प्रतिनिधि सभा सदस्य रामसहाय यादवले संशोधनका लागि दबाब दिने समय तत्काल भइनसकेको बताए । उनले भने, “अहिले बजेटको विषय अगाडि रहेको छ । यसको विषय समाप्त भएपछि संशोधनका लागि पहल हुनेछ ।”
उनले त्यसपछि आफूले दिनुपर्ने दबाब दिन र सम्झौता कार्यान्वयन गराउन आवश्यक भूमिका खेल्ने बताए । फोरमले दुई बुँदे सम्झौता गरी सरकारमा गएको हो भने राजपा संशोधन बिना सरकारमा नजाने अडान दोह¥याउँदै आएको छ ।