कारोबार संवाददाता
सोमवार, असार ११, २०७५
960

सोमबार आन्तरिक रूपमा संसदीय दलको नेता छान्न राष्ट्रिय जनता पार्टी (राजपा) ले गरेको तयारी आइतबार रातिसम्म पूरा भएको छैन । संसदीय दलका केही सदस्य र अध्यक्ष मण्डलका केही सदस्यहरूको निजी कामका कारण संसदीय दलको नेता छान्ने काम एक–दुई दिनलाई सारिएको राजपाका नेताहरूले जनाएका छन् ।
असार ४ गतेको राजनीतिक समितिको बैठकले संसदीय दलको विधानलाई अनुमोदन गरेपछि संसदीय दलको नेताको चुनाव गर्न सहज भएको थियो । पार्टीका नेताहरूले आन्तरिक रूपमा सोमबार संसदीय दलका नेताको चुनाव गर्ने सहमति गरेका थिए ।

पार्टीमा केही नेताहरूले राजेन्द्र महतोलाई बनाउनुपर्ने तर्क अघि सारिरहेका छन् भने कतिपयले अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर नै हुनुपर्ने तर्क गरिरहेका छन् ।
महतो पक्षीय नेताहरूले ठाकुरलाई पार्टीको अध्यक्ष बनाउनुपर्ने र महतोलाई संसदीय दलको नेता बनाउनुपर्नेमा राजनीतिक जोडघटाउ गरिरहेका छन् ।
तर, पार्टी शीर्ष नेताहरू निकट पार्टीका नेताहरूले संसदीय दलको नेताको चुनाव नगरी सर्वसम्मति निर्णय हुनेमा सक्रियता बढाएका छन् । पार्टीभित्रका अविश्वास र असमझदारी हटाउन उनीहरूको प्रयास रहेको छ ।
पार्टीको संसदीय दलका नेताको चुनाव सोमबार हुनेबारे सोधिएको प्रश्नको जवाफमा पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले सक्दो छिट्टै हुने जनाए ।
उनले भने, “हाम्रो आन्तरिक तयारी सोमबार नै संसदीय दलको नेताको चुनाव गरौं भन्ने नै थियो । तर संसदीय दलका सदस्यहरूमध्ये केहीको निजी काम नसकी नहुने भएपछि एक–दुई दिनका लागि सारिएको छ ।”
पार्टीमा केही पक्षले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोलाई बनाउनुपर्ने प्रयास गरिरहेका छन् नि भनी सोधिएको प्रश्नमा उपाध्यक्ष लालले भने, “लोकतान्त्रिक पार्टीमा नेतृत्वका लागि आफ्नो दाबी प्रस्तुत गर्नु अस्वाभाविक भने हुँदैन । महतो संसदीय दलका नेताका लागि अनुपयुक्त व्यक्ति त हुनुहुन्न । तर जोसुकै हुने हो, सर्वसम्मतिबाट नै हुनेछ । हामी संसदीय दलको नेतामा सर्वसम्मति गराउने प्रयास गरिरहेका छौं ।”