केशव समर्पण
शुक्रवार, असार ८, २०७५
899

हेटौंडा-हेटौंडामा जारी नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिहरूले पार्टीको विधान संशोधन गरी राज्य पुनर्संरचनाअनुसार पार्टीको संगठन विस्तार गर्न दबाब दिएका छन् । साथै उनीहरूले पार्टीमा रहेको गुटबन्दी अन्त्य गर्दै पुनः एकताको लागिसमेत जोड दिएका छन् ।
केन्द्रीय सदस्य शिव हुमागाईंका अनुसार भेलामा बोल्ने अधिकांश जिल्ला सभापतिहरूले संविधान मुताविक विधिसंवत् रूपमा विधान संशोधन गरी संगठनको आन्तरिक विस्तारलाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । उनले पार्टीमा पुनः एकताको सन्देश यही भेलाबाट दिनुपर्नेमा समेत सभापतिहरूले जोड दिएको बताउँदै वाम गठबन्धन लोकतन्त्रमाथि खतरा बन्नसक्नेतर्फसमेत सजगता अपनाउन नेतृत्व जिम्मेवार हुनुपर्ने बताए ।

कांग्रेस कास्कीका सभापति कृष्ण केसीले प्रादेशिक र स्थानीय तहमा पार्टीको संगठन विस्तार गर्न ढिला गर्न नहुने बताउँदै जतिसक्दो छिटो चुनाव गरिनुपर्ने बताए । उनले सदस्यता वितरणमा विशिष्ट सदस्य थप गरी त्यसैबाट महासमिति सदस्यमा उठ्न पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए ।
दोलखाका सभापति रुद्रबहादुर खड्काले कांग्रेसको स्थानीय तहमा संरचना बलियो बनाउन अधिकारसम्पन्न बनाउनुपर्नेमा जोड दिए । चुनाव पहिलो सर्त भएको बताउँदै उनले विगतका कमी कमजोरी र मतभेद नकोट्याई अगाडि बढ्न सकेमात्र कांग्रेसको भविष्य उज्ज्वल हुने बताए । “टिकट वितरणमा विगतमा कमी कमजोरी भएकै हो,” उनले थपे, “टिकट वितरणलाई प्रभावकारी बनाउन तहगत सिफारिस समिति गठन गरी कार्यान्वयन गरिनुपर्दछ ।”
बिहीबार साँझ पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले केही जिल्ला सभापतिहरू स्वास्थ्यको समस्याको कारणले अनुपस्थित भएको बताउँदै बाँकी सभापतिहरूको सक्रिय सहभागिता रहेको बताए । नेतृत्व परिवर्तनको विषयमा कुरा गर्दै शर्माले बदलिँदो परिवेशअनुसार कांग्रेसलाई परिवर्तन गरेर जान नसकिएको स्वीकार गर्दै खुला रुपमा आउने छलफललाई लिएर अघि बढ्ने बताए । आगामी भदौमा हुने महासमितिको बैठकले समयानुकुल विधान संशोधन गरेर जाने पनि उनले बताए । विधान संशोधन गरी तलको संरचना बनाउन जानुपर्नेमा जिल्ला सभापतिहरूले दबाब दिएको बताउँदै शर्माले पार्टी सभापति र वरिष्ठ नेताबीच एकतावद्ध भएर उभिनुपर्नेमा जोड दिएको बताए । बुधबारको छलफलमा लमजुङका भेषबहादुर पौडेल, चितवनका जितनारायण श्रेष्ठ, बाजुराका कविराज पण्डित, सुर्खेतका कमलराज रेग्मी, सोलुखुम्बुका विनोदकुमार बस्नेत, सर्लाहीका नागेन्द्रकुमार राय, रामेछापका लवश्री न्यौपाने, भोजपुरका नन्दमणि राईलगायत ४० जना जिल्ला सभापतिहरूले आफ्नो धारणा राखेका थिए । भेलामा बोल्नको लागि ७६ जनाले नाम टिपाएका थिए । बाँकी सभापतिहरूले आज बिहीबारको बैठकमा आफ्नो धारणा राख्ने जनाइएको छ ।
तल्लो तहमा अधिवेशनको लागि दबाब दिन सभापतिहरूलाई केन्द्रीय सदस्यको सुझाव नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले देशको नयाँ संरचनाअनुसार स्थानीय, प्रादेशिक र संघीय तहमा संगठनको अधिवेशन गरी नेतृत्व चुन्न दबाब दिएका छन् ।
यसअघिको केन्द्रीय कार्यसमितिको समिक्षा बैठकमा पार्टी पुनर्निर्माणका सन्दर्भमा प्रस्तावित प्रतिवेदनसहितको पत्रमा केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरूलाई भेलामा विस्तृत रुपमा कुरा उठाउन अनुरोध गरेका हुन् ।
हेटौंडामा चलिरहको जिल्ला सभापतिहरूको भेलामा बुधबार ८ जना केन्द्रीय सदस्यहरूले जिल्ला सभापतिहरूलाई सामुहिक पत्र लेखी तत्काल अधिवेशन गरी नेतृत्व चयन गर्नको लागि केन्द्रलाई दबाब दिन आग्रह गरेका हुन् । स्थानीय, संघीय र प्रादेशिक निर्वाचन हुनु २ वर्ष अगाडि नै पार्टी अधिवेशनहरू सम्पन्न भइसक्ने परिपाटी निरन्तर रहने भन्दै महासमितिमार्फत् अधिवेधनको मिति तोक्न माग गरिएको हो ।
केन्द्रीय सदस्य चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, जीवन परियार, गुरुराज घिमिरे, प्रदिप पौडेल, रामकृष्ण यादव र किरण यादवले जिल्ला सभापतिहरूलाई संयुक्त पत्र लेख्दै पार्टीलाई नयाँमा संरचनामा ढाल्न आवश्यक छलफल चलाउन अनुरोध गरेका हुन् । उनीहरूले तत्काल संघीय संरचनामा लगी वडा, गाउ र नगरपालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छायाँ सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्न आवश्यक रहेको भन्दै त्यसको लागि भेलामा कुरा उठाउन ध्यानाकर्षण गराएका हुन् ।
अहिले तत्काल संघीय संरचनाअनुसार पार्टी नगए अर्को निर्वाचनसम्म पनि सबै संरचना बनाउन नसक्ने उनीहरूले भेलामा प्रस्तुत गरेको दस्तावेजमा भनिएको छ । “महासमिति मार्फत नयाँ संरचनामा गएनौँ भने महाधिवेशन पछि सुरु गर्दा अर्को स्थानीय निर्वाचनसम्म पनि हामीले संघीय संरचना अनुसार गतिविधि गर्न सक्दैनौँ ।” दस्तावेजमा भनिएको छ २०७५ सम्ममा स्थानीय र प्रादेशिक तहको अधिवेशन सम्पन्न गर्न र २०७६ मा केन्द्रीय महाधिवेशन गर्न सुझाव दिँदै संगठनलाई सबै स्थानीय तहमा जीवन्त बनाउने र सशक्त प्रतिपक्षको भुमिका हुने तर्क गरिएको छ ।