कारोबार संवाददाता
बिहिवार, असार ७, २०७५
914

राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश नम्बर २ मा राज्यमन्त्री थप्ने–नथप्ने विषयमा कुनै निर्णय गरेको छैन । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य सुरेश मण्डलले पार्टीका नेताहरूलाई पार्टीको राजनीतिक समितिको बैठकबाट पार्टीको तर्फबाट राज्यमन्त्री नथप्न निर्णय गर्न आग्रह गरेका थिए ।
सदस्य मण्डलले आफ्नो फेसबुकमार्फत् पार्टीका नेताहरूलाई सो आग्रह गरेका थिए । उनले प्रदेश सरकारको खर्च घटाउन उद्देश्यले राज्यमन्त्री थप्न नहुने तर्क अघि सारेका हुन् ।
पार्टी स्रोतका अनुसार मण्डलले उठाएका विषयहरू सही भएपनि उठाउने तरिका उचित नभएकाले ती विषयलाई तत्काल बैठकको एजेन्डा बनाइएन । यसका साथै उनले पार्टीको महाधिवेशन ६ महिनाभित्र गर्न गरेको आग्रहलाई आंशिक रूपमा स्वीकार गर्दै आगामी वैशाखमा गर्ने निर्णय गरेको बताए ।
कतिपयले महाधिवेशन दुई वर्षपछि गर्न भने पनि बैठकले आउँदो वैशाख ७,८ र ९ गते गर्ने निर्णय गरेको छ । वैशाखमा महाधिवेशन गर्न पार्टीलाई मौजुदा संक्षिप्त विधानलाई संशोधन गर्नुपर्छ । असार ४ गतेदेखि सुरू भएको राजनीतिक समितिको बैठकले विधानको महाधिवेशन गर्ने धारा २२ मा संशोधन गरी निर्वाचन आयोगलाई जानकारी गराउने निर्णय गरेको हो ।
पार्टीको बैठकमा सहभागीहरूबीच सरकारमा जाने नजाने विषयमा पनि छलफल भयो । यसअघि पार्टीका महासचिव केशव झाले पार्टी छिट्टै सरकारमा जाने निर्णय गर्ने जनाएका थिए ।
महासचिव झाले भने, “पार्टी बैठकमा सरकारमा जाने विषयमा छलफल भयो । ठोस निर्णय हुन सकेन । तर सरकारमा जान संविधान संशोधनको विषयलाई प्रमुखता साथ उठाउने समझादारी बनेको छ ।”
पार्टीले सरकारमा सहभागीता जनाउनुअघि सरकारको व्यवहारलाई हेर्न खोजेको छ । पार्टीसँग संविधान संशोधन गर्न आफूहरू तयार रहेको सत्तारूढ दलका नेताहरूको बोलीलाई व्यवहारमा एकरूपता हेर्न खोजेकोे राजपा नेताहरूको भनाइ छ ।
संघीय समाजवादी फोरमसँग संविधान संशोधनका लागि गरिएको सम्झौतामा विश्वास गर्ने अवस्था नरहेकाले सरकारमा जान हतार गर्न नहुने उनीहरूको भनाइ छ ।
पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले संविधान संशोधनको सुनिश्चितता नभइ पार्टीले सरकारमा सहभागीता नजनाउने निर्णयमा पुगेको बताए । उनले आगामी बैठक असार २१ गते हुने जनाए ।
पार्टीका महासचिव झाका अनुसार पार्टीले ३ सदस्यीय एक विधान परिमार्जन समिति निर्माण गरिएको छ । सो समितिमा प्रतिनिधिसभाका सांसद तथा अभिवक्ता लक्षमण लाल कर्ण, राष्ट्रिय सभाका सदस्य बृषेशचन्द्र लाल कर्ण र पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।
६ अध्यक्षहरू सम्मिलित अध्यक्ष मण्डलले राष्ट्रिय जनता पार्टीको विद्यमान अध्यक्ष मण्डलको संरचनालाई हटाउने निर्णय अनुरूपकै विधानको परिमार्जित मस्यौदा आउने भन्दै महासचिव झाले भने, “अध्यक्ष मण्डलको संरचनालाई फेर्ने गरि विधान परिमार्जन हुनेछ ।”