कारोबार संवाददाता
बुधवार, असार ६, २०७५
1019

राष्ट्रिय प्रजातन्त्र पार्टी (राजपा)को ६ जना अध्यक्ष सम्मिलित अध्यक्ष मण्डलले विद्यमान अध्यक्ष मण्डलको संरचनालाई हटाउने निर्णय गर्ने भएको छ । यो निर्णय राजनीतिक समितिको जारी बैठकबाट हुने अपेक्षा गरिएको छ ।
राजपाको राजनीतिक समितिले पूर्ण आकारको पार्टीको विधानमा अध्यक्ष मण्डलको नभई अध्यक्षात्मक प्रणालीको मस्यौदालाई अगाडि बढाएको छ ।
६ पार्टीको एकीकरण हुँदा अध्यक्षहरू सम्मितिल अध्यक्ष मण्डलको संरचना खडा गरी पार्टीको निर्णय गर्ने विधि तय गरिएको थियो ।
यो अध्यक्ष मण्डलको संयोजक महन्थ ठाकुर हुन् । तर निर्णय सामूहिक हुने गरेको छ । यसबाट कहिलेकाहीँ तत्काल गर्नुपर्ने निर्णय लिन संयोजकलाई गाह्रो हुने गरेको देखिएको पार्टीका नेताहरूको बुझाइ छ । यसको निर्णय आगामी महाधिवेशनबाट गरिनेछ ।
यसअघि जेठ २५ गते बोलाइएको राजनीतिक समितिको बैठकमा कुनै निर्णय हुन सकेको थिएन । पार्टी स्रोतका अनुसार केही अध्यक्षहरू अध्यक्ष मण्डलमा जानुअघि आफ्नो हैसियतको सुनिश्चितता खोजिरहेका छन् । केहीले अध्यक्ष मण्डलको विद्यमान संरचनालाई ठोस बनाएर निरन्तरता दिनेमा लागेका छन् ।
सोमबारदेखि शुरू भएको बैठकमा विभिन्न एजेन्डामा छलफल जारी रहेकोे उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए । उनी भन्छन्, “पार्टीको महाधिवेशनबाट नयाँ संरचनाका आधारमा पार्टी नेतृत्वको निर्माण गर्ने गरी विधानको मस्यौदा बनाइएको विषयमा बैठकमा छलफल भइरहेको छ ।”
राजनीतिक समितिका एक सदस्यले पार्टीको विधान मात्रै होइन, संसदीय दलको नियमावली तय गर्ने काम पनि हुने बताए । उनले भने, “पार्टीको धेरै एजेन्डाहरू छन् । समसामयिक राजनीतिमा सरकारमा जाने विषयमा निर्णय गरिनेछ ।”
अध्यक्ष मण्डलका सबै सदस्यहरूले आफ्ना सबै उपाध्यक्ष, सचिव, महासचिव जस्ता पदाधिकारीलाई प्रत्यक्षरूपमा पदीय हैसियतमा नचिन्ने अवस्था छ । त्यसैले यी पदहरूको संख्या कटौती गर्ने काम प्रस्तावित विधानले गरेको छ । नेतृत्व चयनका दुई विधिलाई अंगीकार गरिएको छ । सर्वसम्मतिको निर्णय र चुनाव गराएर गरिने निर्णय विधिलाई विधानमा स्थान दिइएको छ ।
पार्टीले सरकारमा जाने शर्तहरूको बारेमा पनि निर्णय गर्ने भएको छ । एक नेताले जनाए अनुसार ती शर्तहरूमा रेशम चौधरीलाई सदनको सपथ खुवाउनुपर्ने, राजनीतिक कार्यकर्ताहरूमाथि लगाइएका मुद्दाहरूलाई फिर्ता लिनुपर्ने, शहिद घोषणा गर्नुपर्ने, घाइते अपांगलाई दिनुपर्ने क्षतिपूर्ति दिनुपर्ने र संविधान संशोधनको सुनिश्चतता जस्ता विषयलाई समावेश गरिनेछ ।
राजपाका नेताहरू सरकारमा जाने विषयमा विभाजित भएका छन् । अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी निकट मानिएका केशव झाले पार्टी छिट्टै सरकारमा जाने भनेपछि पार्टीभित्र विवाद देखियो । त्यस अघि राजेन्द्र महतो निकट प्रदेश सभाका सांसद मनिष सुमनले प्रदेश नम्बर २ को सरकारबाट हटने निर्णय गर्ने भनेका थिए ।