केशव समर्पण
बुधवार, असार ६, २०७५
797

आन्तरिक तिक्तता अन्त्य गर्नुपर्नेमा जोड


हेटौंडा-   नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको राष्ट्रिय भेला मंगलबारबाट हेटौंडामा सुरु भएको छ । नेपाली कांग्रेसका ७७ जिल्लाका जिल्ला सभापतिहरूको तेस्रो राष्ट्रिय भेलाको सभापति शेरबहादुर देउवाले उद्घाटन गरे ।
भेला उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउने प्रण गरे । पराजयबाट आफू नआत्तिएको बताउँदै देउवाले आगामी निर्वाचनमा पहिलो पार्टी बनाउने अभियानमा आफूलाई सहयोग गर्न सबैमा आग्रह गरे । “हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरूको एकीकरणले चुनौती थपिएको छ, तर म विचलित भएको छैन । मैले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु, यसका लागि सबै साथीहरूलाई एकजुट भई सहयोग गर्न म आव्हान गर्दछु,” उनले भने ।
संविधानले राज्यको शासकीय प्रबन्धमा परिवर्तन गरेको अवस्थामा पार्टीका संरचना पनि परिवर्तन गर्नुपर्ने उनले बताए । यसका लागि पार्टीको बिधानमा समसामयिक परिवर्तन आवश्यक रहेको देउवाले औंल्याए । पार्टी विधान संशोधनको विषय पनि भेलाको एजेण्डा रहेको उनले जानकारी दिए । विधान संशोधनको लागि समिति गठन गरिने पनि उनले बताए । पार्टीको विभागहरू गठन गर्ने, महासमितिको बैठकबाट विधान संशोधन गर्ने काम चाँडै नै गरिनेसमेत देउवाले प्रतिवद्धता जनाए । पार्टीका जिल्ला सभापतिहरूको भेलामा प्रस्तुत एजेण्डामा गम्भीर रुपले छलफल हुने उनले बताए । जिल्ला सभापतिहरूको भेलाले नेपाली कांग्रेसमा नयाँ उर्जा थप्ने देउवाको विश्वास छ ।
पछिल्लो निर्वाचनमा हाम्रो हारको कारणबारे केन्द्रीय कार्यसमितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको बताउँदै देउवाले नेपाली कांग्रेसले पहिलेका निर्वाचनहरूमा प्राप्त गरेको मत प्रतिशत यथावत नै रहेको र लोकप्रिय जनमत कांग्रेसको पक्षमा नै रहेकोले आत्तिनु नपर्ने बताए । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा केही स्थानमा माओवादीलाई सहयोग गर्ने नीति लिदा पार्टी भित्र र बाहिरबाट केही जटिलता उत्पन्न भएको देउवाले स्वीकारे ।
ठाउँठाउँमा अन्तरघात हुनु पनि पार्टी पराजयको कारण भएको देउवाको भनाइ छ । “हामीले एउटा लडाइँ हारेका छौ तर, मैदान हारेका छैनौ । संविधानका आधारभूत तत्व वा मूल विशेषताहरू नेपाली काग्रेसका आदर्शवाट निर्देशित छन् र यो संविधानको सफल कार्यान्वयन पनि हामीले नै गरेका छौँ । यस अर्थमा हाम्रो विचारले जितेको छ,” देउवाले भने । पार्टीभित्र केही असन्तुष्टीलाई आफूले स्वभाविक रुपमा लिएको भन्दै देउवाले कतिपय कुराहरू भने अतिरञ्जित र अशोभनीय ढंगले उठ्ने गरेको बताए ।
अहिले मुलुक थप संकटमा परेको भन्दै देउवाले कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन नसक्ने बताए । “कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्छन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो । सरकार सर्वसत्तावादी चरित्र तर्फ उन्मुख छ । गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन् । मूल्य वृद्धिले जनता आक्रान्त छन्,” देउवाले भने ।
केपी ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको आरोप लगाउँदै उनले यस्तो अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए ।
भेलामा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र केही वैमनष्यता रहेको भन्दै त्यसलाई समाधान गर्नतर्फ लाग्नुपर्ने बताए । “पार्टीभित्र केही असन्तुष्टी पक्कै छ, त्यसलाई न्याय, निष्पक्षता र पारदर्शिताको आधारमा एकता गरेर मनैदेखि काँधमा काँध मिलाएर हिँड्नुपर्ने अवस्था बनाउनुपर्छ,” उनले भने । अर्को प्रसंगमा पौडेलले सरकारले पक्षपातको नीति अवलम्बन गराइरहेको आरोप लगाए । कम्युनिष्टहरूले साम्यवादभन्दा पनि सामाजिक फाँसिवादतर्फ कदम चालिरहेको पौडेलको भनाइ थियो । कम्युनिष्टहरू शक्ति केन्द्रिकृत गर्नेतर्फ अघि बढिरहेको उनको आरोप थियो । गाउँगाउँमा सडक पुर्याउनुपर्ने बेलामा सरकारले रेलवे र पानीजहाजको कुरा उठाइरहेको भन्दै उनले सरकारको आलोचना गरे ।
पार्टी उपभासभापति विमलेन्द्र निधिले कांग्रेसलाई अर्को निर्वाचनमा पहिलो पार्टी बनाउने गरी तयारी गर्नु आवश्यक रहेको औंल्याए । “कांग्रेसलाई सफल बनाउन अब तीन सर्तहरू आवश्यक छ,” उनले भने, “आरोप प्रत्यारोप नगर्नु, निराश नहुनु, रिस र आवेशमा नआउने गरे कांग्रेसले सफलता पाउँछ ।” अरुको शक्तिदेखि डराउनु नहुने भन्दै निधिले आफ्नो शक्ति बलियो बनाउनुपर्नेमा जोड दिए । अहिलेको सरकार सर्वसत्तावाद लाद्न उद्धत रहेकोसमेत निधिको आरोप थियो । लोकतन्त्र, संघीयता र संविधानलाई जीवन्त दिन यो सरकारले नसक्ने उनको दावी थियो । संसदीय दलका उपनेता विजयकुमार गच्छदारले लोकतन्त्रवादी शक्तिहरू एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिए । सभापतिहरूको भेलाले पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्ने शक्ति प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे ।
महामन्त्री शशांक कोइरालाले कांग्रेसभित्र आन्तरिक मिलापमा जोड दिए । आपसी तित्तता हटाएर कांग्रेसलाई एक नम्बर पार्टी बनाउन सबै जुट्ने बेला आएको कोइरालाको भनाइ थियो ।
३ दिनसम्म चल्ने भेलामा वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, सफल प्रतिपक्षको भूमिका, चुनावी हारको विषय र विधान संशोधनसम्मका विषयमा छलफल हुने बताइएको छ । कांग्रेस मकवानपुर सचिव बुद्ध लामाका अनुसार भेलाको अन्तिम दिन हेटौंडा घोषणापत्र जारी हुनेछ । कांग्रेसको जिल्ला सभापतिहरूको भेलाले आगामी दिनमा नेपाली कांग्रेसको महत्वपूर्ण कार्यदिशासमेत निर्धारण गर्ने विश्वास लिइएको छ ।