कारोबार संवाददाता
मंगलबार, असार ५, २०७५
1040

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले सभापति शेरबहादुर देउवाको नेतृत्व असफल भैसकेको आरोप लगाएकी छिन् ।
सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेतृ कोइरालाले सभापति देउवाकै कारण पार्टी कमजोर भएको भन्दै अब सक्षम नेतृत्व ल्याउनुपर्नेमा जोड दिइन् ।

चुनावमा पार्टीले पराजय भोग्दैमा नेतृत्वले राजीनामा दिनु नपर्ने तर पराजयको जिम्मेवारी बहन गर्नुपर्ने उनको तर्क छ । उनले भनिन्, “पद छोड्नै र्छ भन्ने छैन तर पराजयको जिम्मेवारी लिएर नेता कार्यकर्तामा उत्साह थप्नुपर्छ । गिरिजाबाबुले पार्टी हार्दा जिम्मेवारी लिएर उत्साह थप्नुहुन्थ्यो, अहिलेको नेतृत्वले त्यसो गर्न सकेन ।”
पछिल्लो समय कांग्रेसको संगठन केन्द्रदेखि गाउँसम्म ध्वस्त भएको भन्दै कोइरालाले सक्षम र राम्रा मान्छेलाई भन्दा आफ्ना मान्छेलाई काखी च्याप्ने गरेको पनि गुनासो पोखिन् । “गाउँ–गाउँमा सक्षम कार्यकर्ता छन्, सुतेर बसेकालाई जगाउन सक्ने हो भने कांग्रेस बलियो हुन्छ । जगाउन सक्ने नयाँ नेतृत्व चाहिन्छ,” कोइरालाले अघि भनिन्, “पार्टीको तल्लो तहसम्मका नेता–कार्यकर्ताको भावना बुझ्न सक्ने नेतृत्व चाहिन्छ । माथि बसेर लाद्ने नेतृत्वले पार्टीलाई असफल बनाउँछ ।”

अब महासमितिको बैठक बसेर कांग्रेसको आगामी यात्रा तय गर्नुपर्नेमा उनले जोड दिएकी छिन् । महासमितिको बैठकको भावनाअनुसार नेतृत्व चल्न तयार हुनुपर्नेमा उनले सचेत गराइन् । अहिले संसदमा प्रतिपक्षीको भूमिका पनि कांग्रेसले प्रभावकारी रुपमा निभाउन नसकेको कोइरालाको जिकिर थियो ।