कारोबार संवाददाता
मंगलबार, मंसिर १९, २०७४
1243

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सोमबार मध्यरातिबाट मौन अवधि सुरु भएको छ । मंसिर २१ गते हुने निर्वाचनका लागि निर्वाचन आयोगले मौन अवधि लगाएको हो । मौन अवधि सुरु भएपछि मतदान सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका उम्मेदवार, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार, नागरिक समाज, मतदाता कसैले पनि चुनावी प्रचार गर्न पाइँदैन । यस्तै सञ्चारमाध्यमले समेत निर्वाचनलाई प्रभाव पार्ने गरी समचार प्रकाशन, प्रसारण, मत सर्वेक्षण गर्न नहुने भन्दै आयोगले आचारसंहिता विपरितका कार्य नगर्न नगराउन अनुरोध गरेको छ । आयोगले मौन अवधिमा मतदाता शिक्षा सामग्री, सूचना वा सन्देश प्रवाह गर्न पाइने जनाएको छ । दोस्रो चरणमा ४५ जिल्लाका प्रतिनिधिसभातर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ निर्वाचन क्षेत्रमा मतदान हुँदैछ । दोस्रो चरणका लागि मंसिर १९ र २० गते सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका १२८ क्षेत्रबाट प्रत्यक्षतर्फ १ हजार ६६३ तथा प्रदेशसभा सदस्यतर्फ २५६ क्षेत्रबाट २ हजार ८१९ जना उमेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।आगामी निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९९३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आयोगले जनाएको छ ।

पहिलो चरणअन्तर्गत मंसिर १० गते ३२ जिल्लाका प्रतिनिधिसभा तर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा निर्वाचन भइसकेको छ । निर्वाचन आयोगले २१ गते साँझबाट मतगणना सुरु हुने जनाएको छ ।

निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने
मौन अवधि सुरु हुनु अगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामग्री हटाउनुपर्ने एसएमएस, फेसबुक,भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचारप्रसार गर्न नहुनेराजनीतिक दलको प्रचार प्रसार हुने गरी समाचार प्रकाशन प्रसारण गर्न नहुने।