प्रधानमन्त्रीज्यू ! सक्षमता प्रमाणित गर्नुहोस् : एमाले
कारोबार संवाददाता
आइतवार, मंसिर १७, २०७४

नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई असक्षम प्रधानमन्त्री भन्दै आफ्नो सक्षमता प्रमाणित गर्न चुनौती दिएको छ । मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारमाथि श्रृंखलाबद्ध आक्रमण हुँदा पनि भरपर्दो सुरक्षा व्यवस्था मिलाउन नसकेको भन्दै एमालेले प्रधानमन्त्री देउवालाई आफ्नो सक्षमता प्रमाणित गर्न चुनौती दिएको हो ।
आफ्ना उम्मेदवार लक्षित आक्रमण नरोकिएको भन्दै एमालेले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका देउवालाई जिम्मेवार हुन आग्रह गरेको हो ।
“असक्षम प्रमको रूपमा पटक पटक डामिनुभएका प्रम देउवालाई आफ्नो सक्षमता प्रमाणित गर्न हाम्रो पार्टी चुनौतीसमेत दिन चाहन्छ,” एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटिले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सम्पूर्ण उम्मेदवार लक्षित आक्रमणको घोर निन्दा गर्दै सुरक्षा प्रत्याभूतिको माग गर्दछ ।”
एमालेले पटक–पटक शीर्ष नेता तथा उम्मेदवार लक्षित घटनामा गम्भिर हुन र यथोचित्त सुरक्षाको प्रत्याभूतिको लागि सरकारको ध्यानाकर्षण गराए पनि त्यसो हुन नसकेको जनाएको छ । उसले प्रधानमन्त्रीको असंवेदनशिल बनेको आरोप समेत लगाएको छ । “सरकार र गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका स्वयं प्रधानमन्त्रीको असंवेदनशीलताबाट हाम्रो पार्टी विश्मित छ,” प्रवक्ता विष्णु रिमालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
उम्मेदवारमाथि भइरहेका हमलाको श्रृंखलमा प्रधानमन्त्री र सरकारको संलग्नताबारेमा शंकासमेत उब्जिएको एमालेले जनाएको छ । “नेपालको संविधानको अधिनमा रही सञ्चालित कम्युनिष्ट पार्टी र सिंगो जीवन लोकतन्त्र र मानवअधिकारका लागि बिताएका नेताको नेतृत्वमा बन्ने सम्भावित सरकार भन्दा ‘राणशासन राम्रो’ जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिँदै हिँडेका प्रधानमन्त्री र सरकारको विपक्षी उम्मेदवार तथा आफ्नै दलभित्रका फरक धारका नेतामाथि जारी हमलाको श्रृंखलाप्रति कतै संलग्नता त छैन भन्ने प्रश्न खडा भएको छ,” विज्ञप्तीमा उल्लेख छ ।
एमालेले उदयपुरको घटनामा गिरफ्तार आरोपीले ‘सरकारको निर्देशनमा आक्रमण गरेको’ भन्ने समाचार आएकाले आशंकालाई अझ बल पुर्याएको जनाएको छ । श्रृंखलाबद्ध रूपमा घटेका घटना, सरकारको उदासिनता र प्रेसर कुकर बमसहित समातिएका भारतीय नागरिकबीच कुनै सम्बन्ध छ वा छैन स्पष्ट पार्न समेत एमालेले सम्बन्धित निकायसँग माग गरेको छ । एमाले सरकारको फितलो सुरक्षा प्रबन्धलाई सुदृढ गर्न माग समेत गरेको छ ।
इलामको प्रतिनिधिसभा–१ का उम्मेदवार पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गरी बम प्रहार गरिएको र सांघातिक हमला प्रयास गरेको भन्दै एमालेले खेद व्यक्त गरेको छ ।