कारोबार संवाददाता
बिहिवार, जेठ २४, २०७५
907

राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नम्बर २ को सरकारबाट हट्ने निर्णय गर्ने भएको छ । २५ गतेदेखि सुरू हुने पार्टीको राजनीतिक समितिको बैठकबाट यस्तो निर्णय लिइने पार्टीका महासचिव एवम् प्रदेश सभा सदस्य मनिष सुमनले बताए ।
उनले भने, “पार्टीको राजनीतिक समितिको बैठक बसिरहेको छ । त्यसमा यो निर्णय लिइनेछ ।” पार्टीभित्र गर्नुपर्ने धेरै काम गर्न बाँकी रहेकाले नेतृत्व तहमा जिम्मेवारी थुप्रिन पुगेको उनले बताए । पार्टीभित्र र बाहिरको राजनीतिक दाउपेचले राष्ट्रिय जनता पार्टीले संसदीय दलको नेता, प्रमुख सचेतक र सचेतक जस्ता जिम्मेवारीको बाँडफाँट गर्न सकेको छैन । निर्वाचनमा पार्टी दर्ता गराएर औपचारिकता पूरा गर्नुपर्ने अन्तिम काम एकीकृत पार्टीको महाधिवेशन गर्न पनि सकेको छैन । पार्टी एकीकरण भएपछि सदनमा संविधान संशोधनको प्रस्ताव, स्थानीय तह र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको व्यवस्तताले पार्टीको महाधिवेशन गर्न नसकेको प्रस्टै देखिन्छ । तर संसदीय दलको नेता, प्रमुख सचेतक जस्ता पदको निक्र्यौल गर्न नसक्नु राजनीति दाउपेच नै रहेको पार्टी निकटहरूले बताएका छन् । अध्यक्ष मण्डलका अध्यक्षहरूले यी विषयका अतिरिक्त अन्य समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बसिरहेका छन् ।
संसदीय दलको नेता छान्न चाहिने निर्देशिका तयार गरिएको छ । निर्वाचनअघि संक्षिप्त विधान तयार पारिएको छ । अब पूर्णाकार विधानको आवश्यकता छ र यसको मस्यौदा पनि तयार भएको छ । तर यो सबै विषयको अन्तिम टुंगो लगाउन अधिकार अध्यक्ष मण्डललाई रहेको छ । अध्यक्ष मण्डलले विधान पारित गरेपछि सोही अनुसार आगामी महाधिवेशन असार ३० भित्र सम्पन्न गर्ने काम हुने राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलले जनाए । सरकारबाट हट्ने निर्णय गरिसकिएको हो भनी सोधिएको प्रश्नको जवाफमा उपाध्यक्ष मण्डलले भने, “पार्टी सबै विषयमा विचार गरिरहेको छ । उपयुक्त निर्णय लिइनेछ ।”