धर्मेन्द्र कर्ण
सोमवार, जेठ २१, २०७५
1223

राजनीतिक समितिको बैठकका एजेन्डा र समसामयिक राजनीतिक गतिविधिबारे छलफल गर्न बस्ने भनिएको राष्ट्रिय जनता पार्टी (राजपा)अध्यक्ष मण्डलको बैठक आइतबार पनि बस्न सकेन । संघीय सरकारमा सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र प्रदेश नम्बर २ मा सत्तासीन संघीय समाजवादी फोरमको पछिल्ला राजनीतिक कदमबाट राजपाका शीर्ष नेताहरूमा चिन्ता बढाएको छ । कतिपय विषयमा अझ नेकपा र फोरमका राजनीतिक कदमबारे शीर्ष नेताहरू प्रष्ट हुन चाहेकाले आइतबार बस्ने भनिएको बैठक नबसेको पार्टी स्रोतले जनाएको छ ।
प्रदेश नम्बर २ मा सत्ता गठबन्धन गरेको राजपासँग कुनै सहमति नगरी एकल ढंगबाट संघीय सरकारमा पुगेको फोरमले अब नेकपालाई सभामुख वा उपसभामुखमध्ये एक आफूहरूलाई दिनुपर्ने माग अघि सारेपछि बढेको राजनीतिको जटिलताले राजपाका शीर्ष नेतृत्वमा चिन्ता बढाएको हो ।

फोरम शीर्ष नेतृत्वले आफूले प्रदेश नम्बर २ मा राजपासँगको गठबन्धन नटुटाउने बताइरहेको भए पनि राजपा नेतृत्व उसको बोलीमाथि विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताइएको छ । फोरम अब संघीय सरकारमा गइसकेकाले सत्ता समीकरणमा हुने बाँडफाँटलाई उसले स्वाभाविक रूपले प्रभाव पार्ने देखिएको विषयबाट राजपाका नेताहरू जानकार छन् ।
राजपाले आन्दोलनलाई अगाडि बढाउने वा सरकारमा सहभागी हुने बाटोको खोजी गर्ने दुई विषयमा विशेष रूपले छलफल गर्नुपर्ने केही नेताहरूको कथन छ । तर, शीर्ष नेताहरू भने यी दुईमध्ये कुनै पनि बाटोको लागि उपयुक्त समय आइनसकेको बुझाइमा छन् । फोरमले गरेको सम्झौताका दुईटा पाटा रहेको केलाउँदै पार्टीका एक नेताले भने, “संविधान संशोधनको प्रस्ताव फोरमले भने बमोजिम सदनमा ढिलोचाँडो दर्ता भए त्यसमा राजपाले समर्थन जनाउने वा बहिष्कार गर्ने परिस्थिति उत्पन्न हुनेछ । यस्तोमा आन्दोलनको बाटो गलत हुन सक्नेछ ।”
अर्को बाटो राजपाका नेताहरूले फोरमले संविधान संशोधनको विषय नेकपाको लकरमा बन्द गरी तुहाइदिएको आरोप सत्य हुने हो भने राजपाले आन्दोलनको तयारी नगर्ने हो भने ढिला निर्णय हुन सक्ने अप्ठयारो रहेको छ । यस्ता विषयमा राजनीतिक समितिमा छलफल हुने भएकाले त्यसको एजेन्डा तय गर्ने जिम्मा अध्यक्ष मण्डलका नेताहरूमा रहेको छ ।
      प्रदेश नम्बर २ मा सत्ता गठबन्धन गरेको राजपासँग कुनै सहमति नगरी एकल ढंगबाट संघीय सरकारमा पुगेको फोरमले अब नेकपालाई सभामुख वा उपसभामुखमध्ये एक आफूहरूलाई दिनुपर्ने माग अघि सारेपछि बढेको राजनीतिको जटिलताले राजपाका शीर्ष नेतृत्वमा चिन्ता बढाएको हो ।
फोरमले सम्झौता गर्न केही दिनअघिदेखि हुने भनिएको अध्यक्ष मण्डलको बैठक नबसेकाले आगामी एजेन्डाबारे शीर्ष नेतृत्वमा एकमत भइनसकेको देखिएको छ । स्रोतले विभाजित एजेन्डालाई राजनीतिक समितिमा लाने हो वा एकमत भएर एजेन्डा लाने हो त्यस विषयमा आइतबार नभएको बैठक सोमबार वा मंगलबारसम्म बस्ने देखिएको ती नेताले बताए । ती नेताका अनुसार संघीय सदनमा मात्रै होइन, ६ प्रदेशमै पनि सभामुख उपसभामुख मध्ये एक छाड्नुपर्ने अवस्था आइपरेको छ । यसलाई समाधान गर्न नेकपामा समस्या रहेको छ । यी सबै विषयमा राजनीति प्रष्टिनुपर्ने देखिएको तिनको बुझाइ छ । राजपाका उपाध्यक्ष सत्यनारायण मण्डलका अनुसार अध्यक्ष मण्डलका नेताहरूले छिट्टै अनुकूल समयमा बैठक बसी एजेन्डा तय गर्नेछन् ।