जगन्नाथ दुलाल
बिहिवार, जेठ १७, २०७५
1109

बजेटबारे कांग्रेसको १४ बुँदे टिप्पणी

नेपाली कांग्रेसले सरकारले मंगलबार प्रस्तुत गरेको बजेट ‘वायुपंखीको नारा कछुवा शैलीको परिणाम’ भएको टिप्पणी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले बजेटबारे पार्टीको १४ बुँदे औपचारिक धारणा सार्वजनिक गरेका हुन् ।
सरकारले झुटो सपना देखाएको, अघिल्ला सरकारले गरेका राम्रा कुराहरू हटाइएको र संविधान कार्यान्वयन भएर तुलनात्मक रूपले सहज राजनीतिक अवस्था मुलुकमा बनेको कालखण्डमा जुन इच्छाशक्ति, भिजन र कार्यक्रम साथ बजेट आउनु पर्नेमा त्यो नभएको कांग्रेसको निष्कर्ष छ ।

“प्रधानमन्त्रीले राति हैन, दिउँसै खुला आँखाले देखेको सपना भनेर प्रचारित पानी जहाजको विषय साँझपख जारी बजेटबाट गायब भएको छ,” प्रवक्ता शर्माले भने, “चुल्हा–चुल्हामा ग्यास पुर्याउने विगतको अभिव्यक्तिप्रति बजेटले मौन धारण गरेको छ भने घोषणापत्रमा उल्लेखित वृद्ध भत्ताको उच्च आकार पनि थन्किएको छ ।”
कांग्रेसले बजेटले आफ्नो मुख्य प्राथमिकतामा रोजगारी सृजनालाई केन्द्रमा राख्नु सकारात्मक भए पनि रोजगारी सृजनाको स्रोत सरकार नै हो भन्ने परम्परागत शास्त्रीय दर्शनबाट मुक्त हुन नसकेको जनाएको छ । स्थिर पुँजी निर्माणमा ७० प्रतिशतभन्दा बढी भूमिका रहेको निजी क्षेत्रलाई बजेटले प्रोत्साहन गर्न नसकेको भन्दै निजी क्षेत्रको व्यवसायमा निरुत्साह हुन सक्ने जोखिमले रोजगारीको सृजनामा प्रतिकूल असर पर्न सक्नेतर्फ बजेटले गम्भीरता नराखेको आरोप लगाएको छ ।
आफू नेतृत्वको अघिल्लो सरकारले मृगौला रोग, क्यान्सर र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीहरूलाई जीविकोपार्जन भत्ताबापत मासिक ५ हजार उपलब्ध गराउने कार्यक्रलाई निरन्तरता नदिएकोमा कांग्रेसले आपत्ति जनाएको छ ।
“बजेटमा ठूलो व्ययभार नपर्ने तर सम्बन्धित बिरामी र परिवारजनलाई एक हदसम्म राहत पुग्ने यो कार्यक्रम निरन्तरता नदिइनु मानवीय दृष्टिले पनि बिल्कुलै गलत छ,” कांग्रेसले भनेको छ ।
त्यस्तै, बजेटको एक चौथाई भन्दा कम हिस्सामात्रै विकास खर्च छुट्याइएको भन्दै यस्तो असन्तुलनको जगमा उभिएर समृद्धि हासिल नहुने र विगतदेखि सञ्चालित विकास परियोजनाहरूको सुरक्षित अवतरणमा समेत बजेटको गम्भीरता नदेखिएकोमा कांग्रेसले आलोचना गरेको छ । सरकारले मंगलबार आगामी आर्थिक वर्ष २०७५–०७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट ल्याएको छ ।

संसद्मा विरोध गर्न रुलिङ
बजेटबारे धारणा तय गर्न बसेको कांग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले बजेटका विषयमा विरोध जनाउन रुलिङ गरेका छन् । बुधबार संसदीय दलका सदस्य र विज्ञहरूको धारणा सुनेपछि संसदीय दलका नेतासमेत रहेका देउवाले त्यस्तो निर्देशन दिएको सांसद मीन विश्वकर्माले जानकारी दिए । उनले बैठकपछि भने, “सभापतिज्यूले हामीलाई संसद्मा विरोधका लागि विरोध नभएर विश्लेषणात्मक ढंगले प्रस्तुत हुन रुलिङ गर्नुभएको छ । ”
त्यस्तै बैठकले यो बजेटले समृद्धि नल्याउने निष्कर्ष निकाल्दै राष्ट्रहित र समृद्धिको पाटोमा कुनै प्रगति नगर्ने निष्कर्ष निकालेको छ । सरकारले आगामी आर्थिक वर्षका लागि संघीयतालाई पाखा लगाएर एकात्मक राज्यसत्ता प्रणालीअनुरुप केन्द्रीकृत ढंगले बजेट ल्याएको विश्वकर्माले बताए । बजेटमा राष्ट्रिय गौरवका आयोजनाहरूलाई प्राथमिकता नदिइएको र रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई सम्बोधन नगरेको प्रति पनि आपत्ति जनाएको छ । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बजेटले जनतालाई ऋणको भार बढाउने काम गरेको भन्दै बजेटमा भएका गलत कुराहरूको संसदमा विरोध गरिने जानकारी दिए ।