कारोबार संवाददाता
मंगलबार, जेठ १५, २०७५
1510

मंगलबार संघीय संसद्मा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५/०७६ को बजेटबाट सत्तापक्षकै नेता निराश बनेका छन् । खतिवडाले प्रस्तुत गरेको १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेटबाट नेपाल कम्युनिष्ट पार्टीका सांसद तथा नेताहरु निराश बनेका हुन् ।
बजेटले निर्वाचन बेला घोषणा गरिएका प्रतिवद्धतालाई सम्बोधन नगरेको र समृद्धिको सपनालाई समेत सम्बोधन नगरेको नेकपाका नेताहरुको टिप्पणी छ ।

उनीहरुले खुलेर बजेटको विरोध गरेका छैनन्, तर असन्तुष्टि भने व्यक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा आलीले तत्कालिन नेकपा एमालेका नेताहरुलाई विश्वास नगरी अर्थशास्त्रका ज्ञाता भन्दै खतिवडालाई अर्थमन्त्री बनाएका थिए । ओलीले आफ्नो समृद्धिको सपना साकार पार्ने पात्रका रुपमा खतिवडालाई अर्थमन्त्री बनाएको तर उनै खतिवडाले ल्याएको बजेटले निराश बनाएको नेकपाका एक नेताले टिप्पणी गरे । “निर्वाचनका बेला जनता माझ गरिएको प्रतिवद्धतालाई बजेटले सम्बोधन गर्न सकेको छैन,” ती नेताले भने, “बहुमत प्राप्त सरकारले यस्तो बजेट ल्याउँदा मतदाताको विश्वास धर्मराउने खतरा बढेको छ ।”
नेकपाका नेता जनार्दन शर्माले बजेटले समृद्धिको सपना साकार पार्ने खालको कार्यक्रम समेट्न नसकेको टिप्पणी गरे । यद्यपी उनले बजेटमा धेरे राम्रा कुरा पनि समेटिएको बताए । यस्तै पूर्व अर्थमन्त्री समेत रहेको नेकपाका नेता सुरेन्द्र पाण्डेले बजेटले आर्थिक वृद्धि र रोजगारी वृद्धीका लागि अपेक्षा अनुसार बजेटले सम्बोधन गर्न नसकेको टिप्पणी गरेका छन् । उनले आठ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएपनि बजेट छरिएको टिप्पणी गरेका छन् ।
घोषणापत्रमा उल्लेख भएका सपना सम्बोधन नहुँदा जनतामा निराशा छाउन सक्ने टिप्पणीसमेत सत्तारुढ दलका नेताहरुले गरेका छन् । “बजेट अपेक्षा गरे अनुसारको आएन । घोषणापत्रमा जुन चुनावी प्रतिबद्धता गरिएका थिए, त्यसलाई सम्बोधन गरिएन । आम जनताले अनूभुत गर्ने गरी नारा सहितका कार्यक्रम आउनुपर्ने हो त्यसो हुन सकेन,” नेता हेमराज भण्डारीले भने ।


सातामा धेरै पढिएको