जगन्नाथ दुलाल
बिहिवार, बैशाख २७, २०७५
1262

नेविसंघ विवाद सुन्दरीजलमा छताछुल्ल

नेपाली कांग्रेसले वीपी संग्रहालय सुन्दरीजललाई महत्वका साथ लिने गर्छ । जहाँ कांग्रेसका संस्थापक वीपी कोइरालाले लामो समय जेल जीवन मात्र बिताएनन् अधिकांश पुस्तक समेत उनले सुन्दरीजल जेलमै लेखे । सोही जेल अहिले सुन्दरीजल संग्राहलयका रूपमा छ । नेपाली कांग्रेसले वीपी संग्रहालय सुन्दरीजललाई महत्वका साथ लिने गर्छ । जहाँ कांग्रेसका संस्थापक वीपी कोइरालाले लामो समय जेल जीवन मात्र बिताएनन् अधिकांश पुस्तक समेत उनले सुन्दरीजल जेलमै लेखे । सोही जेल अहिले सुन्दरीजल संग्राहलयका रूपमा छ । कांग्रेसका लागि मात्र होइन अन्य राजनीतिक दलले समेत सुन्दरीजललाई नेपाली राजनीतिमा महत्वपूर्ण स्थलका रूपमा स्मरण गर्ने गरिन्छ  । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पहिलोपटक प्रधानमन्त्री भएलगत्तै सुन्दरीजल पुगेका थिए । बुधबार सोही ऐतिहासिक स्थलमा नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघभित्रको विवाद छताछुल्ल भएको छ । जसकारण तयार भइसकेको प्रशिक्षण कार्यक्रम अन्तिम समयमा स्थगित हुनपुग्यो । कांग्रेसभित्रको गुटको विवादका कारण बनिसकेको मञ्च समेत रित्तै रह्यो । विद्यार्थीहरूबीच झडपको सम्भावना देखिएपछि दिनभर संग्रहालयमा प्रहरी नै परिचालन गरिएको थियो । स्थानीय कांग्रेस नेताहरूले एउटै कार्यक्रम गर्न दबाब दिँदै दुईवटा कार्यक्रम गर्न नदिने अडान लिएपछि कार्यक्रम सुरु नै हुनसकेन । 
प्रमुख अतिथिका रूपमा कार्यक्रममा निम्त्याइएका सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल कार्यक्रममै गएनन् ।एउटै चौरमा २ वटा मञ्च बनाएर दुईथरी कार्यक्रमको तयारीपछि कार्यक्रम स्थगन हुनपुगेको संघका प्रवक्ता प्रेमराज जोशीले  बताए ।  नेविसंघ केन्द्रीय समिति र शहिद आदर्श क्याम्पसको आयोजनामा संघको ४९औं स्थापना दिवसको अवसर पारेर देशभरका स्ववियू सभापतिहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । जसलाई कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गर्ने बताइएको थियो । तर, सोही स्थलमा महामन्त्री कुन्दन काफ्ले समूह र नेविसंघ काठमाडौं जिल्ला समितिले संयुक्त रूपमा ‘विधान एवं नियमावली सम्बन्धमा छलफल’ कार्यक्रम राखेपछि विवाद देखिएको हो । सभापति महर पक्षले केन्द्रीय समितिले पहिलै कार्यक्रम तय गरेपछि त्यसलाई भाँड्न नियोजित रूपमा महामन्त्री काफ्ले समूह लागेको आरोप लगाएको छ । अध्यक्ष महरनिकट संघका प्रवक्ता प्रेमराज जोशीले भने, “संगठनका अराजकता हाबी भयो । जसले गर्दा कार्यक्रम हुन सकेन ।” संगठनलाई राम्रो बनाउने हो भने अनुशासनको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए ।महामन्त्री काफ्लेले भने अध्यक्ष महर एकलौटी रूपमा अघि बढ्न खोजेकाले अलग कार्यक्रम आयोजना गरिएको बताए । “एकलौटी रूपमा अध्यक्ष ज्यू अघि बढ्न खोज्नुभएको छ । उहाँले एकलौटी गर्न खोजेसम्म हामी पनि हाम्रो ढंगले अगाडि बढ्छौं । त्यही अन्तर्गत हामीले कार्यक्रम आयोजना गरेका हौं ।” महामन्त्री काफ्ले समूहले केन्द्रीय समिति बैठक समेत अलग्गै आयोजना गरेपछि पार्टीले नै बैठक रोक्न निर्देशन दिएको थियो । सभापति महर र महामन्त्री काफ्लेबीच विवाद बढेपछि काफ्ले समूहले समानान्तर गतिविधि गर्दै आएको छ । 
संघमा अहिले ११औं महाधिवेशनमा सभापति निर्वाचित महर, महामन्त्री काफ्ले र अध्यक्षका प्रत्यासी मनोजमणी आाचार्य नेतृत्वको ३ वटा समूह देखिएका छन् । आचार्य समूहमा रहेका संघका केन्द्रीय सदस्य रघु कार्कीले संगठनभित्र आन्तरिक द्वन्द्व भए पनि त्यसलाई सडकमा छताछुल्ल पार्न नहुने बताए । “आन्तरिक विवादलाई संवादबाट हल गरेर नेविसंघभित्र वृहत्तर एकता आजको अपरिहार्यता हो,” केन्द्रीय सदस्य कार्कीले भने , “अध्यक्ष महर र महामन्त्री काफ्ले दुवैले हठ त्यागेर नेविसंघलाई एकतावद्ध रूपमा अगाडी लैजानुपर्छ । १२ औं महाधिवेशन सुनिश्चितताको बाटोतर्फ लैजानुपर्छ ।”आन्तरिक विवादका कारण तयार भएको मञ्च रित्तै भएर कार्यक्रम हुन नसकेपछि  कार्यक्रममा सहभागी हुन आएका स्ववियू सभापति र संघका कार्यकर्ताहरू भने निराश हुँदै सुन्दरीजलबाट फर्किएका छन् । बुधबार साँझ संयुक्त विज्ञप्ति जारी गर्दै महामन्त्री सरोज थापा,आनन्द त्रिपाठी र काफ्लेले विशेष कारणवश कार्यक्रम स्थगित गरिएको भन्दै कार्यक्रम सहभागि हुन आएकाहरूसँग क्षमा मागेका छन् ।