जगन्नाथ दुलाल
बुधवार, बैशाख २६, २०७५
1822

मोदीको भ्रमणममा कांग्रेसको प्रश्न

नेपाली कांग्रेसले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणका क्रममा हुने तय भएको ‘नागरिक अभिनन्दन’को विषयलाई लिएर सरकारले प्रष्ट पार्नुपर्ने बताएको छ । मित्रराष्ट्रको प्रधानमन्त्रीलाई भ्रमणमा आउँदा हृदयदेखि नै स्वागत गर्नु स्वभाविक भए पनि २ दिनको बीचमा २ पटक अभिनन्दन गर्नुको सन्देश के हो भन्नेबारे स्पष्ट गर्न आवश्यक रहेकोमा कांग्रेसले जोड दिएको छ । नेपाल भ्रमणमा रहँदा मोदीलाई जनकपुर र काठमाडौंमा नागरिक अभिनन्दन गर्ने तयारी भइरहेको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार कारोबारसँग कुरा गर्दै मित्र राष्ट्रको प्रधानमन्त्रीलाई भ्रमणमा आउँदा हृदयदेखि नै स्वागत गर्नु स्वभाविक भएको बताए । तर, २ दिनको भ्रमणको क्रममा २ भिन्न भूगोलमा २ वटा अभिनन्दन गर्नुको सन्देश के हो सरकारले नागरिकसमक्ष प्रष्ट गर्नुपर्नेमा शर्माले जोड दिए । “प्रदेश २ को जनकपुर उपमहानगरपालिकाले गर्ने अभिनन्दन पूरै देशका तर्फबाट हो । के जनकपुरले देशको प्रतिनिधित्व गर्न सक्दैन ? काठमाडौंमा किन अभिनन्दन ?” प्रवक्ता शर्माले भने, “संविधानका बारेमा सकारात्मक धारणा र नाकाबन्दीका बारेमा आत्माआलोचनात्मक अभिव्यक्ति नआउँदासम्म म एउटा नागरिकको नाममा राखिएको अभिनन्दनमा सहभागि हुन्न भन्छ भने यसको जवाफ पस्कने दायित्व सरकारको हो ।”

०७२ असोज ३ गते नेपालमा संविधान जारी हुँदा भारत त्यसप्रति सकारात्मक देखिएको थिएन । संविधानमा असन्तुष्टि जनाउँदै मधेस केन्द्रीत दलले भारतीय सिमानाका केन्द्रीत आन्दोलन गर्दा त्यसैलाई बहाना बनाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको थियो । सोही विषयलाई लिएर किन ‘नागरिक अभिनन्दन’ भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ ।
सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले जनकपुरलाई प्राथमिकतामा राखेर हुन लागेको भ्रमण जनकपुरवासी र प्रदेश २ का लागि खुसीको विषय भएको बताए । यसरी कुनै देशको सरकार प्रमुख जनकपुरलाई प्राथमिकतामा राखेर भ्रमणमा आएको यो पहिलोपटक भएको उनले बताए । “विगतमा पनि राष्ट्रप्रमुख, सरकार प्रमुख नेपाल आउँदा काठमाडौं महानगरपालिकामा पिएल सिंह मेयर हुँदा अभिनन्दन गर्ने चलन थियो । जनकपुरमा हुने नागरिक अभिनन्दन स्वभाविक विषय हो,” उनले भने ।

विश्वप्रकाश शर्मा
प्रवक्ता, नेपाली कांग्रेस
“उग्र राष्ट्रवादको टोपी लगाएर राष्ट्रवादको अभिनय गर्ने कर्मबाट माथि उठेर व्यवहारिक ढंगले विमर्श गर्न जरुरी छ ”

व्यवहारिक ढंगले विमर्श होस्
कांग्रेसले भ्रमणका क्रममा खुल्ला रुपमा नेपालको हितका बारेमा नेपालले कुरा राख्नुपर्नेमा जोड दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाँदा दुई देशका प्रधानमन्त्रीका तर्फबाट जारी संयुक्त वक्तव्यमा कुरा चपाइएको भन्दै कांग्रेसले यसपटक प्रष्ट कुरा राख्न सुझाएको हो । “व्यापार घाटा, नोटबन्दीको कुरा संयुक्त वक्तव्यमा आएन । डुबानको कुरा पनि उठेन,” प्रवक्ता शर्माले भने, “भविष्यको रेलको कुरा छ । तर, २ दशकअघिको पञ्चेश्वरको ५ हजार बढी मेगावटको कुरा उल्लेख भएन, कुरा चपाइयो ।” शर्माले कुरा चपाउनु कुरा नगर्नु सरह भएको भन्दै यसपटक प्रष्ट कुरा राख्न प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।
नेपालको हितका लागि के गर्नुपर्ला त ? कारोबारको प्रश्नमा उनले भने, “उग्रराष्ट्रवादको टोपी लगाएर राष्ट्रवादको अभिनय गर्ने कर्मबाट माथी उठेर व्यवहारिक ढंगले विमर्श गर्न जरुरी छ ।”