रासस
सोमवार, बैशाख २४, २०७५
988

संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आइतबारदेखि सुरु भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरूप आइतबार अपराह्न ४ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा दुवै सभाको बैठक छुट्टाछुट्टै बसेको थियो । प्रधानमन्त्रीको सिफारिसमा नेपालको संविधानबमोजिम राष्ट्रपतिबाट बोलाइएको संघीय संसद्को बजेट अधिवेशनका क्रममा सरकारको नीति तथा कार्यक्रमसमेत प्रस्तुत हुनेछ ।

संघीय संसद् सचिवालयका अनुसार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाइनुका साथै शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरिएको थियो । आगामी दिनका बैठकमा नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि छलफल, संशोधन प्रस्तुत गर्ने अवधि र पारित गर्ने, पहिलो बैठकमा प्रस्तुत भएका अध्यादेश क्रमशः स्वीकृत हुनेछन् ।
सचिवालयले यही वैशाख २६ देखि २८ गतेसम्म (प्रि–बजेट) विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त अर्थमन्त्रीद्वारा प्रस्तुत भई सभामा छलफल गरिने प्रारम्भिक सम्भावित कार्यसूची बनाएको छ । अधिवेशनका क्रममा आगामी जेठ १ गते राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधनसमेत हुनेछ ।
आइतबारको बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ । दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे ।
त्यस्तै, कानुन मन्त्री तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५’ पेश गरेका थिए ।
बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गरेका थिए ।
बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ । अधिकारी नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक भएका छन् ।


सातामा धेरै पढिएको