धर्मेन्द्र कर्ण
शुक्रवार, बैशाख २१, २०७५
1457

विभिन्न राजनीतिक दलका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि वर्तमान राजनीतिक समीकरण हेरफेर हुन सक्ने अनुमान गरिरहेका छन् । सत्तारूढ नेकपा (एमाले) ले संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी दुवैलाई सरकारमा ल्याउन फालेको चारोले परिणाम दिन सक्ने उनीहरूको बुझाइ छ ।
एमाले र माओवादी केन्द्रबीचको एकतामा देखिएको ढिलाइको कारण पनि मोदीको नेपाल भ्रमण रहेको हुन सक्ने तिनको बुझाइ छ । राजपाले चुनावलगत्तै फोरमसँग एकता गर्ने राजनीतिक दाउ फाले पनि त्यसमा फोरमका नेताहरूले अहिले कुनै पहल लिइरहेका छैनन् ।

सरकारले संविधान संशोधन गरी यी दुई दल सरकारमा लाने विषयमा एमाले नेतृत्वले ठोस पहल नलिए राजनीतिक गतिविधि अघि बढ्न नसक्ने देखिएको छ । तर यी दुई दलका नेताहरूले अब मोदीको भ्रमणपछि आन्तरिक गतिविधि तीव्र हुने बताउँछन् ।
राजपाका महासचिव केशव झाले भने, “अहिले पार्टीभित्र खासै राजनीतिक गतिविधि भइरहेको छैन । हामी संविधान संशोधन नभएसम्म सरकारमा जाँदैनौं । सरकारले यसबारे कुनै पहल गरिरहेको छैन ।”
फोरमका एक शीर्ष नेता भन्छन्, “मोदीको भ्रमणले हामी दुई दलबीचको सम्बन्ध अगाडि मात्रै बढिरहेको छैन । एमाले र माओवादीको एकता पनि गठबन्धनमै सीमित भएको छ ।”
फोरमका महासचिव रामसहाय यादवले पार्टीको ध्यान अहिले संशोधनबाट आन्दोलनका एजेन्डाको बैठान खोज्नेमा रहेको बताए । उनले भने, “सरकारमा जाने कुरा संशोधनमा सरकारले दिलाउने विश्वासको आधारमा तय हुन्छ । राजपासँगको एकताबारे पार्टीभित्र खासै छलफल भइरहेको छैन ।”
राजपाका राजेन्द्र महतोलगायत नेताले फोरमसँगको पार्टी एकतालाई जनताको म्यान्डेट बताउँदै आएका छन् । उनीहरूका अनुसार जनताले फोरम र राजपालाई एकता गर्न जनताले म्यान्डेट दिएका हुन् ।
फोरमसम्बद्ध एक नेता भन्छन्, “भारत र चीनबीच पनि नेपालको आगामी राजनीतिक गतिविधिबारे ठोस दृष्टिकोण बनिसकेको छैन । उनीहरूले नेपालमा दुई पार्टी बनाएर राजनीतिक दललाई सुझाव दिन्छन् कि दुई गठबन्धनलाई अगाडि बढाउन सुझाव दिन्छन् । त्यस आधारमा राजनीतिक समीकरण तय हुन्छ ।”
राजनीतिक दलका अध्यक्षहरूले जे निर्णय लिए, त्यो पार्टीको नीति बन्ने गरेको बताउँदै उनले भने, “आन्दोलनरत ६ दल रातारात जसरी एकता गरेर राजपा पार्टी बनाए ? त्यसै गरी एमाले माओवादीले पनि एकता गर्ने कुरो अगाडि बढाएको देखिएको हो । यो त्यसै भएको होइन ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गरी चिनियाँ राष्ट्रपति सी जिनपिनको नेपाल भ्रमण सुनिश्चित गर्ने योजना बनाएका थिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएको भए नेपालको भ्रमणअघि मोदीले चीनको भ्रमण गर्ने थिएनन् । “प्रधानमन्त्री ओलीलाई बोलाएर भारतले सम्बन्ध सुधार गरेको बाहिर दुनियाँलाई देखाउनु एक कुरो हो तर कुटनीतिक दाउपेच अलि फरक हुन्छ,” फोरमका ती नेताले भने । उनका अनुसार मोदीले मधेश र हिन्दूवादी नारालाई अगाडि बढाउन जनकपुर र मुक्तिनाथको भ्रमण गर्न खोजेका हुन् ।