कारोबार संवाददाता
बिहिवार, बैशाख २०, २०७५
1181

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले सरकारले केही दिनभित्रै अनलाइन मिडियालाई व्यवस्थित र मर्यादित बनाउन नयाँ निर्देशिका ल्याउने बताएका छन् । न्यूज लाइन्स मिडिया प्रालिको प्रथम वार्षिकोत्सवको अवसरमा बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री तामाङले यस्तो बताएका हुन् । “च्याउजस्तै उम्रेका अनलाइन मिडियालाई व्यवस्थित, मर्यादित र नीतिगत सुधारका लागि सरकारले निर्देशिका ल्याउँदैछ,” उनले भने, “त्यसबेला सरकारलाई कडा रुपमा प्रस्तुत भयो नभन्नुहोला, अतिरञ्जित समाचारहरुले समाजमा नकारात्मक प्रभाव पारेका छन् । ती कुराहरुलाई पत्रकार महासंघ, प्रेस काउन्सिलले पनि हेर्नुपर्छ ।”
मन्त्री तामाङले पछिल्लो समय नेपाली अनलाइन मिडियाहरुले पत्रकारिता भन्दा बढी अनुमानकारिता गरिरहेको आरोप लगाए । उनले अघि थपे, “मन्त्रिमण्डल गठन हुने समयमा अनलाइन खोलेर समाचार हेर्यो, एकछिनमा एउटालाई मन्त्री बनाइरहेका हुन्छन्, तर केही समयपछि अर्कै मन्त्री बनिरहेको हुन्छ, तर बन्नेबेलामा चाहिँ अर्कै व्यक्ति मन्त्री बन्छ । हो यही हो अनुमानकारिता ।”