कारोबार संवाददाता
सोमवार, बैशाख ३, २०७५
583

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचनमा अन्तरघात गर्नेलाई पार्टीबाट निस्कासन नगरेसम्म अघि बढ्नसक्ने अवस्था नरहेको बताएका छन् । आइतबार प्रजातन्त्रवादी प्राध्यापक संघले आयोजना गरेको कार्यक्रममा देउवाले अन्तरघातीलाई कारबाही गर्न पार्टीभित्रैबाट असहयोग भएको बताएका हुन् ।
उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमाथि निर्वाचनमा अन्तरघात गर्नेहरुलाई कारबाही गर्न नदिएको आरोप लगाए । “निर्वाचनमा अन्तरघात गर्नेहरुलाई पार्टीबाट निस्काशन नगरेसम्म अघि बढाउन सक्ने अवस्था छैन,” देउवाले भने । एमाले र माओवादी एकताले निर्वाचनमा पार्टीले अनपेक्षित हार व्यहोर्नुपरेको भन्दै उनले अन्तरघातकै कारण पार्टीले ४० सिट गुमाउनु परेको पनि बताए । पार्टीभित्रको एकतालाई बलियो बनाउन प्राध्यापकहरुलाई सहयोग गर्न पनि सभापति देउवाले आग्रह गरे ।
सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसलाई काम गर्ने पार्टीको रुपमा स्थापित गराउनुपर्ने धारणा राखे । महामन्त्री शशांक कोइरालाले गुट, उपगुटकै कारण कांग्रेसले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको भन्दै यसबाट मुक्त गर्न बुद्धिजीविहरुले आवश्यक पहल गर्नुपर्नेमा जोड दिए ।